इजरायल-प्यालेस्टिन द्वन्द्वको मारमा नेपाली

अधुरै रह्यो आनन्दको एक करोड बिरुवा रोप्ने सपना

नेहा झा २२ असोज २०८० १६:५६
42
SHARES
अधुरै रह्यो आनन्दको एक करोड बिरुवा रोप्ने सपना धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ का आनन्द साहको निधनपछि शोकाकुल परिवारजन र इन्सेटमा आनन्द। तस्बिर : हिमाल प्रेस

जनकपुरधाम– इजरायलमा गाजापट्टीबाट भएको आक्रमणमा परी मारिने १० नेपालीमध्ये धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीका आनन्द साह एक हुन्। उनको मृत्युले खबरले आमाबुबा र बहिनी मात्रै होइन सपही गाउँ शोकमा छ। परिवारका सदस्यका रुवाइ रोकिएको छैन।

घरको आँगनमा सुकेको अम्बाको बोटमुनि गोलबद्ध स्थानीयसामु सोमन पुत्र वियोगमा विलाप गरिरहेका छन्। खबर सुनेदेखि नै आमा शिवकली देवी र हजुरआमा बसमतिया देवी अचेतजस्तै छन्। छिमेकीको घरको बरन्डामा आनन्दकी कान्छी बहिनी आरतीलाई स्लाइन पानीसहित राखिएको छ।

चार सन्तानमध्ये सबैभन्दा जेठो हुन् आनन्द। सोमन र शिवकलीको एकमात्र छोरा पनि। घरमा हजुरआमा, आमाबुबा र तीन बहिनी छन्। इजरायल गएको २७ दिनमै परिवारले उनलाई गुमाएको छ।

बच्चैदेखि कृषि क्षेत्रमा काम गर्ने चाहना थियो आनन्दको। त्यसमै भविष्य बनाउने सपना बुनेका थिए। कक्षा ५ सम्म गाउँकै अक्सफोर्ड विद्यालयमा अध्ययन गरेका उनले जनकपुरधामस्थित एन्जल्स बोर्डिङ स्कुलबाट एसईई गरे। पूर्ण छात्रवृत्तिमा  एग्रिकल्चरमा बीएससी गरे। त्यसपछि सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै पोख्त बनाउन १० महिने इन्टर्नसिपका लागि इजरायल पठाइयो। त्यसमा उनी पनि संलग्न थिए।

इजरायल पुगेको एक महिना पनि नबित्दै हमासले गरेको आक्रमणमा परी आनन्दले ज्यान गुमाएका छन्।

पढाइका लागि इजरायल पुगेर एक दिन पनि कक्षामा सहभागी हुन सकेनन् आनन्द। त्यहाँको क्याम्पसमा ५ हजार ८८ डलर बुझाएमात्रै। कक्षामा सहभागी हुन सक्ने थाहा पाएपछि बुबालाई गाह्रो नहोस् भनी त्यही केही काम गरेर पैसाको जोहो गर्ने सोचमा थिए। बुबाले उनलाई पटकपटक घर फर्किन भनेका थिए।

तर आफ्नो सपना साकार पार्न र परिवारको नाम उँचो पार्न त्यही बसेर अध्ययन गर्ने सोच बनाए र काम सुरु गरे। उनले त्यहाँ कागती टिप्ने काम गर्थे। इजरायल पठाउन बुबाले तीन लाख रुपैयाँ ऋण लिएका थिए।

आनन्दले आफ्नो जीवनकालमा एक करोडभन्दा बढी बिरुवा रोप्ने संकल्प लिएका थिए। त्यतिमात्र नभई अक्सिजन प्लान्टका साथै उत्कृष्ट अस्पताल खोल्ने उनको धोको थियो। तर आफ्नो संकल्प पूरा नगरेरै उनी संसारबाट बिदा भए।

उनले आमाबुबाको मात्र नभई गाउँकै नाम चम्काउने विश्वास स्थानीयवासीको थियो। स्थानीय मोहन पजियार सपहीले एउटा अनमोल रत्न गुमाएको बताउँछन्।  इजरायलमा फसेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गर्नका साथै सो घटनामा मारिएका नेपाली विद्यार्थीको शव नेपाल ल्याउन माग गर्दै सपहीका स्थानीयले सडकमा  चक्काजाम गरेका छन्।

प्रकाशित: २२ असोज २०८० १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =