काठमाडौँ- चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालको व्यापार घाटा १३.०४ प्रतिशतले बढेको छ। यसले आयातमा मुलुकको बढ्दो परनिर्भरतालाई पुनः पुष्टि गरेको छ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ थियो।
निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा व्यापार घाटा चुलिएको हो। चालू आवको ९ महिनामा कुल आयात १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड रूपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो।
यस अवधिमा निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको भए तापनि निर्यातको सानो हिस्साका कारण व्यापार घाटा कम गर्न यसको प्रभाव न्यून देखिएको छ।
चालू आवको पहिलो ९ महिनामा कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले विस्तार भई १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कुल व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको थियो।
निर्यात आम्दानीमा सुधार भए तापनि आयातनिर्यात अनुपात ६.६९ रहेको छ, जसको अर्थ निर्यातको तुलनामा आयात झण्डै सात गुणा बढी छ। गत वर्ष यो अनुपात ६.९६ थियो।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशतबाट सामान्य बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८७.४३ प्रतिशतबाट केही घटेर ८६.९९ प्रतिशतमा झरेको छ।



