१५ प्रतिशतले बढ्यो व्यापार घाटा

हिमाल प्रेस ८ जेठ २०८३ १५:१७ | Friday, May 22, 2026
10
SHARES
१५ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको व्यापार घाटा करिब १५ प्रतिशतले बढेको छ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको २०८२/८३ आर्थिक वर्षको पहिलो १० महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार कुल व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँको तुलनामा १४.९२ प्रतिशतले बढी हो।

यो घाटा चालु आर्थिक वर्षका लागि संशोधित बजेट अनुमान १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँभन्दा करिब दुई खर्ब रुपैयाँ मात्र कम हो। विकास खर्चको सुस्त गति र राजस्व संकलनमा कमी देखाउँदै सरकारले यसअघि बजेट आकार घटाएर १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँबाट संशोधन गरेको थियो।

आयात र निर्यात दुवै दोहोरो अंकले बढे पनि व्यापार घाटा नियन्त्रण हुन सकेको छैन। यस अवधिमा आयात १४.८२ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने निर्यात १४.२५ प्रतिशतले बढेर दुई खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। तर सीमित निर्यात संरचनाका कारण निर्यात वृद्धि घाटा न्यूनीकरण गर्न पर्याप्त हुन सकेको छैन।

कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। कुल व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत र निर्यातको हिस्सा १२.८२ प्रतिशत छ। आयात–निर्यात अनुपात ६.७९ पुगेको छ, जुन अघिल्लो वर्ष ६.७७ थियो।

विश्लेषकहरूले निर्यात हिस्सामा देखिएको सीमित गिरावटलाई नेपालको औद्योगिक विविधीकरण र प्रतिस्पर्धात्मक क्षमतामा रहेको संरचनागत कमजोरीसँग जोडेर हेरेका छन्।

यस अवधिमा शीर्ष पाँच आयातित वस्तुमध्ये तीन पेट्रोलियम पदार्थ छन्। नेपालले यस अवधिमा एक खर्ब ३० अर्ब ९३ करोड रुपैयाँ बराबरको डिजेल, एक खर्ब ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल, ५८ अर्ब ६३ करोड रुपैयाँ बराबरको पेट्रोल, ४८ करोड पाँच लाख रुपैयाँ बराबरको स्पन्ज आइरन र ४६ अर्ब १३ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेको छ।

निर्याततर्फ सोयाबिन तेल शीर्ष स्थानमा छ। नेपालले एक खर्ब एक अर्ब २६ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरेको छ। त्यसपछि ठूलो अलैँची (११ अर्ब ४२ करोड), हस्तनिर्मित गलैँचा (आठ अर्ब ४८ करोड), सूर्यमुखी तेल (सात अर्ब ४१ करोड) र पाम तेल (पाँच अर्ब ५६ करोड) रहेका छन्।

नेपालका शीर्ष पाँच निर्यात वस्तु अधिकांश प्रशोधित तेलजन्य उत्पादन छन्, जुन कच्चा तेल आयात गरी प्रशोधनपछि भारतलगायत देशमा निर्यात गरिन्छ।

प्रकाशित: ८ जेठ २०८३ १५:१७ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast