प्रा.डा. दिवाकर प्रधान। तस्बिर : जीवन आले
प्रा.डा. दिवाकर प्रधान भारतीय भूमिमा रहेर नेपाली भाषासाहित्यको अध्ययन, अध्यापन र प्रवर्धनमा सक्रिय प्रतिष्ठित विद्वान् हुन्। काशी हिन्दू विश्वविद्यालयअन्तर्गत भारतीय भाषा विभागका अध्यक्षसमेत रहेका प्रधान नेपाली भाषा, जनजीवन, रहनसहन र मौलिक संस्कृतिका सूक्ष्म अध्येता मानिन्छन्। नेपालको पूर्वी सीमावर्ती इलाम नजिकै जन्मिएका उनले भारतका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गर्दै नेपाली भाषाप्रति समर्पित शिष्यहरू उत्पादन गरेका छन्। नेपाल-भारत शैक्षिक तथा सांस्कृतिक सम्बन्धको सेतुका रूपमा स्थापित उनी समय-समयमा काठमाडौँ आएर प्राज्ञिक संवाद, अन्तरवार्ता र विमर्शमा सक्रिय सहभागी हुँदै आएका छन्। उनका प्राज्ञिक अभिव्यक्तिमा नेपाली भाषिक चेतना, शुद्धीकरण बहस र सांस्कृतिक चिनारीबारे गहिरो दृष्टिपात गरिएको हुन्छ। केही दिनअघि काठमाडौँमा सम्पन्न नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनमा विशिष्ट अतिथिका रूपमा आमन्त्रित प्रधानको प्रस्तुतिलाई धेरैले चासोपूर्वक लिइएको देखियो। उनै प्रा.डा. प्रधानसँग नेपालको प्राज्ञिक परम्परा, भाषासाहित्य, विश्वविद्यालयमा नेपाली विषय पठनपाठनको अवस्था, सनातन सभ्यतासम्बन्धी विषयमा माधवप्रसाद नेपालले गरेको कुराकानी :
यसपालि नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको अवसर पारेर काठमाडौँ आउनुभयो। भेटघाट पनि बाक्लै देखियो। यही व्यस्ततामा काठमाडौँमा कहाँकहाँ भ्रमण गर्नुभयो?
काठमाडौँ बसाइ निकै रमणीय रह्यो। नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नेपाली भाषासाहित्यका प्राध्यापकहरूसँग साक्षात्कार गर्न पाएँ। धेरै मित्रसँग भेट भयो। कतिपय नयाँ मित्रहरू जोडिए। सम्मेलनमा आफ्ना धारणा राख्न पाएँ। यसमा सम्मेलन आयोजक नइ प्रतिष्ठानप्रति कृतज्ञता अर्पण गर्दछु। प्यारा शिष्यशिष्याहरूको सान्निध्य र उनीहरूको आतिथ्यले म अझै खुसी भएँ। यसै क्रममा काठमाडौँका स्वयम्भू, पशुपतिनाथ, चन्द्रागिरिजस्ता धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थलमा पुगेर त्यहाँको आध्यात्मिक आनन्द लिन पाएँ।
चन्द्रागिरिमा पुगेर काठमाडौँ अवलोकन गर्दा निकै रमाइलो भयो। चन्द्रागिरि नेपालको ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो। यस स्थानले नेपाल एकीकरणको कथा बोकेको छ, जसलाई अहिले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको रहेछ। यस गिरिबाट हिमालय पर्वतमाला देखिन्छ। पहाडको थुम्कोमा स्थित भालेश्वर मन्दिरसम्म पुग्न केबल कार प्रणाली उपलब्ध छ। चन्द्रागिरिबाट पृथ्वीनारायण शाहले नेपाल भनी चिनिने तल उपत्यकाका चार नगर कान्तिपुर, भक्तपुर, ललितपुर र कीर्तिपुर जिती गोर्खा राज्यमा मिलाउने निर्णय लिएको कुरा इतिहासमा पढ्न पाइन्छ।
काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरि प्राचीन कालदेखि व्यापारिक र रणनीतिक रूपमा महत्त्वपूर्ण रहँदै आएको छ। २५५१ मिटरको उचाइमा रहेको यस स्थानमा भालेश्वर महादेव मन्दिर छ, जसले यसलाई ऐतिहासिक र धार्मिक पर्यटनका रूपमा महत्त्वपूर्ण बनाएको छ। भालेश्वर मन्दिरमा पृथ्वीनारायण शाहले उपत्यका विजयका लागि पूजा र साधना गरेको किंवदन्ती छ। सम्भवत: खस विधिले भाले काटेर मष्टदेउता र प्रकृति रिझाउन थुम्के पूजा गरेको हुन सक्छ। खसहरूले डाँडामा पशु वा पक्षीको बलि दिएर प्राकृतिक प्रकोप, रोग-व्याधि र शोक-भोकदेखि जोगिन थुम्के पूजा गर्दछन्। पछि आर्य प्रभावले भालेश्वर महादेव मन्दिर चलनचल्तीमा आयो। महादेव (शिव) को भाल (मस्तक) मा अर्धचन्द्र, तेस्रो आँखो (नेत्र लाल) र भस्म रमिरहन्छ। यसले उनको भालचन्द्र अनि त्रिनेत्रधारी स्वरूप दर्शाउँछ। अहिले भाले काटिएको देखिएन। बरु दक्षिण भारतीय वैष्णव विधिले नरिवल फुटाउने गरेको देखिन्छ। मूल मन्दिरमा पनि खडीबोली र हिन्दी मिश्रित भजन बजिरहेको सुनियो।
अर्को मैले भ्रमण गरेको ठाउँ हो स्वयम्भूनाथ। स्वयम्भूको अर्धोन्मीलित नेत्रले गहिरो दार्शनिक अर्थ बोकेको छ। स्वयम्भूनाथ स्तूपमा देखिने ती नेत्र पूर्ण रूपमा न खुलेका छन्, न त पूर्ण रूपमा बन्द। यिनले न त अन्धविश्वासमा डुबेको अवस्था जनाउँछन्, न त शुष्क तर्कवादमा हराएको चेतना। यही कारणले ती नेत्र अतिवादका विपक्षमा सन्तुलनको प्रतीक मानिन्छन्। गौतम बुद्धले प्रतिपादन गरेको मध्यममार्गजस्तै यी नेत्रले जीवनलाई न त अत्यधिक भोगवादी बनाउने, न त कठोर तपस्यामा सीमित गर्ने सन्देश दिन्छन्।
अर्धोन्मीलित नेत्रको भावले भित्री चेतना (आत्मदर्शन) र बाहिरी संसारप्रतिको सजगताको समन्वयलाई सूचित गर्छ। स्वयम्भूका नेत्रहरू धार्मिक प्रतीक मात्र नभई, जीवनमा सन्तुलन, सम्यक् दृष्टि र मध्यममार्ग पहिल्याउन प्रेरित गर्ने गहिरो दार्शनिक चिह्न हुन्। पाशुपत क्षेत्रको त के वर्णन गर्न सक्छु र? त्यहाँ पुग्दा प्राप्त आनन्दको वर्णन शब्दमा गर्न सकिँदैन।

यी त तपाईँले भ्रमण गर्नुभएका काठमाडौँका महत्त्वपूर्ण स्थान भए। काठमाडौँ प्रवेश गर्दा तपाईँलाई कस्तो अनुभव हुन्छ?
नेपालको भूमिमा प्रवेश गर्दा मलाई हिमालको देशमा मात्र नभएर दर्शन, तपस्या र बौद्धिक अन्वेषणको उद्गमभूमिमा प्रवेश गरेको अनुभव हुन्छ। वैदिक परम्पराका महर्षि व्यासले वेदको संहिताकरण र महाभारतको रचना गर्दै यहीँबाट भारतीय उपमहाद्वीपको दार्शनिक आधार निर्माण गरेका हुन्। कपिलमुनिले सांख्यदर्शनबाट तर्क, तत्त्वमीमांसा र प्रकृतिपुरुषको गहन विश्लेषण प्रस्तुत गरे। याज्ञवल्क्यले नेपाल भूमिबाटै उपनिषद् परम्परामा आत्मविद्या र ब्रह्मविद्याको गूढ विमर्श अघि सारे। त्यस परम्परामा गार्गीजस्ती विदुषीले निर्भीक प्रश्नद्वारा ज्ञानसंवादलाई उचाइ दिइन्। यी नामहरू धार्मिक पात्र मात्रै नभएर बौद्धिक स्वतन्त्रता, तर्कशीलता र जिज्ञासाका प्रतीक हुन्।
लुम्बिनीको पावन भूमिमा जन्मिएका गौतम बुद्धले करुणा, मध्यममार्ग र प्रज्ञाको शिक्षा विश्वलाई दिए। उनको शिक्षा आध्यात्मिक मुक्ति मात्र होइन; नैतिक अनुशासन, मनोवैज्ञानिक सूक्ष्मता र सामाजिक समतामाथि आधारित ज्ञान प्रणाली थियो। जनकपुरकी सीता त्याग, धैर्य र मर्यादाको प्रतीकका रूपमा विराजमान छिन्। राजकुमारी भृकुटीले तिब्बतसम्म बौद्धधर्म र कला, संस्कृतिको सेतु निर्माण गर्दै अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उज्ज्वल उदाहरण प्रस्तुत गरेकी छन्। नेपाली कलाशिक्षालाई वैश्विक बनाइदिने अरनिको सधैँ सम्मानित छन्।
पशुपति, न्यातपोल, स्वयम्भू, बौद्ध, कोपन, तेङबोचे, माङधिम आदि मठमन्दिरसहित विविध प्रासादहरूको शिल्पसौष्ठव र वास्तुविद्या नेपाली शिक्षाका धरोहर हुन्। यस्ता विषयले मलाई आकर्षित गरिरहन्छन्। अनि नेपाल आउने गर्छु। सकेसम्म यस्ता सम्पदासँग निकट हुन खोज्छु।
नेपालको विद्वत् परम्परालाई कसरी लिनुहुन्छ?
प्राचीनकालमा संस्कृत उच्चशिक्षा, शास्त्रचर्चा र चर्याको माध्यम थियो। गुरुकुल, आश्रम र मठहरूमा वेद, व्याकरण, आयुर्वेद, ज्योतिष र तर्कशास्त्रका अध्ययन हुन्थे। लिच्छविकालमा संस्कृत र मल्लकालमा नेवारी (नेपाल भाषा) प्रशासन, साहित्य र सांस्कृतिक जीवनको सशक्त माध्यम बनेको पाइन्छ।
नाटक, काव्य, अभिलेख, गुठी परम्परा, गुरुकुल प्रथा, गुम्बा शिक्षाले बहुभाषिक शैक्षिक वातावरण निर्माण गर्यो। यसैसँगै जनजातीय भाषाहरूमा किराती मुन्धुम परम्परा, गुरुङ र तामाङ समुदायका मौखिक आख्यानले ज्ञानलाई जीवन्त राखेका छन्। उतिबेला शिक्षा पुस्तकमा मात्र सीमित थिएन, जीवनशैलीमै अन्तर्निहित थियो। नेपालको गौरवमय राजपरम्पराले यी सम्पूर्ण ज्ञानधाराहरूलाई संरक्षण गर्दै राष्ट्रिय एकताको आधार स्थापना गरेको इतिहास छ।
आधुनिक नेपाल निर्माण भएपछि नेपाली भाषासाहित्यको विकास र प्रवर्धन कसरी भइरहेको देख्नुहुन्छ?
पृथ्वीनारायण शाहद्वारा सम्पन्न राजनीतिक एकीकरणले विविध भाषा, संस्कृति र परम्परालाई पनि एउटै सूत्रमा गाँस्यो। यस ऐतिहासिक प्रक्रियाले नेपाली भाषालाई यावत् हिमाली क्षेत्रमा क्रमश: जातीय सम्पर्क भाषाका रूपमा विकसित हुन मार्गप्रशस्त गरेको छ।
कविवर भानुभक्तले शुद्ध नेपाली भाषामा साहित्यिक सूत्र प्रदान गरेका छन्। उनका कृति प्रकाशमा ल्याउनाका साथै साहित्येतिहास र साहित्य समालोचनामा नवधारा दिने मोतीराम भट्ट स्मरणीय छन्। नेपाली साहित्य र दर्शनका क्षेत्रमा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा अग्रणी छन्। यी तीजना साहित्यकार मात्र नभएर गहिरो दार्शनिक चेतनाका संवाहक पनि थिए।
शिक्षाका क्षेत्रमा जयपृथ्वीबहादुर सिंह, मृगेन्द्रशमशेर, इतिहासशिरोमणि बाबुराम आचार्य, रत्नध्वज जोशी, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, शारदाप्रसाद मुखोपाध्याय आदिले आधुनिक शैक्षिक संरचना र संस्थागत विकासमा योगदान पुर्याएका छन्।

भारतीय भूमिमा रहेर नेपाली भाषामा शिक्षा दिने, पुस्तक लेख्ने र अध्ययनअध्यापन गराउने व्यक्ति र संघसंस्थाको परम्परा पनि ठुलै छ नि हैन?
भारतीय सन्दर्भमा सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान) उल्लेखनीय छन्। उनीहरूका रचनामा राष्ट्रियता, मानवतावाद र सांस्कृतिक आत्मचेतना स्पष्ट रूपमा प्रकट हुन्छ। पारसमणि प्रधानले व्याकरण, पाठ्यपुस्तक र शैक्षिक संरचनामा महत्त्वपूर्ण कार्यद्वारा नेपाली भाषालाई संस्थागत रूप दिए। उनको प्रयासले नेपाली भाषालाई शैक्षिक र बौद्धिक अभिव्यक्तिको सशक्त माध्यम बनायो।
देहरादुनमा ठाकुर चन्दनसिंह, सिक्किममा रश्मिप्रसाद आले, फाकछिरिङ काजी, वृहदासममा विष्णुलाल उपाध्याय, मणिसिंह गुरुङ, छविलाल उपाध्याय आदिले पारसमणि प्रधानको नेपाली भाषा शिक्षा अभियानलाई थप उचाइतर्फ लगेका छन्।
शैक्षिक प्रतिष्ठानहरूमा भारतमा नेपाली शिक्षा परिचित गराउने कलकत्ताको फोर्ड विलियम कलेज, प्रयागको इलाहाबाद विश्वविद्यालय र कलकत्ताको कलकत्ता विश्वविद्यालय छन्। पछिल्लो कालखण्डमा वाराणसीको काशी हिन्दु विश्वविद्यालय, गुवाहाटीको गौहाटी विश्वविद्यालय र दार्जिलिङ जनपदको उत्तरबंग विश्वविद्यालयमा नेपालीको पठनपाठन हुँदै आएका छन्।
नेपाली भाषालाई शिक्षाको माध्यम बनाउन सघाउने विदेशी विद्वान्हरूको भूमिका पनि धेरै रहेको सुनिन्छ। कुनकुन विद्वान्ले नेपाली भाषासाहित्य पठनपाठनलाई प्रोत्साहन गरेको पाउनुहुन्छ?
नेपाली भाषालाई शिक्षाको एक विषय र माध्यम बनाउनमा र पाठ्यपुस्तक लेखन प्रकाशनमा सहयोग गर्ने फोर्ड विलियम कलेजका पश्चिम बंगको शिक्षा विभागका डिरेक्टर अफ पब्लिक इन्स्ट्रक्सन डब्ल्यू डब्ल्यू होर्नेल, कालेबुङको स्कटिस युनिभर्सिटी मिसन इन्स्टिच्युटका प्राचार्य सदरल्यान्ड, कालेबुङ होम्सका संस्थापक डा.ग्राहम, कलकत्ताको कालेबुङको स्कटिस युनिभर्सिटी मिसन इन्स्टिच्युटका प्राचार्य डा. फोर्ड विलियम कलेजका प्राध्यापक जेए एटन अग्रणी छन्।
यसैगरी म्याक मिल्लन कम्पनीका प्रबन्धक सीए पास्ट, टेक्स बुक कमिटीका अध्यक्ष पीजे ग्रिफित्स र टेक्स बुक कमिटीका सदस्यमा पादरी कासिंह पिटर्स र रायसाहेब हरिप्रसाद प्रधान, नेपाली माध्यमलाई समर्थन जनाउने मणिसिंह गुरुङ र डा. येन सिंह, लिंगुइस्टिक सर्भे अफ इन्डिया (१९१६) मा नेपाली भाषाको विवरण लेखिदिने सर जर्ज अब्राहम ग्रियर्सन, एसेज अन दि ल्यांग्वेजेज लिटरेचर एन्ड रिलिजन अफ नेपाल एन्ड टिबेट (१८७४) मा नेपाली भाषालाई प्रधानता दिने सर ब्राइन हुटन हजसन, अ कम्प्याराटिभ एन्ड एटिमोलोजिकल डिक्सनरी अफ दि नेपाली ल्यांग्वेज (१९३१) बनाइदिने सर राल्फ लिले टर्नर आदिलाई हामीले भुल्नु हुँदैन।
अहिले नेपालमा नेपाली भाषाको अवस्था कस्तो देख्नुभएको छ। नेपाली भाषालाई थप जीवन्त बनाउन के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
नेपाली भाषा हाम्रो जातीय अस्मिताको मेरुदण्ड हो। यसले हाम्रो इतिहास, दर्शन, साहित्य र सामूहिक स्मृतिलाई वहन गरेको छ। हामीले संस्कृत, नेवारी, जनजातीय भाषा र आधुनिक नेपाली भाषाको समन्वयकारी परम्परालाई सम्मान गर्दै भविष्यतिर अघि बढ्नुपर्छ। डिजिटल युगमा नेपाली भाषालाई अनुसन्धान, विज्ञान र अन्तर्राष्ट्रिय संवादको सक्षम माध्यम बनाउनु हाम्रो दायित्व हो। नेपाली भाषाले जातीयतालाई मान्दैन। नेपाल भौगोलिक रूपमा सानो भए पनि यहाँको जातीय विविधता विश्वमै उदाहरणीय छ। यसको अर्थ नेपाली भाषा कुनै एउटा जातिको मात्रै भाषा हुँदै होइन भन्ने हो।
दु:खका साथ भन्नुपर्छ, नेपालमा प्रयोग हुँदै आएका नेपाली भाषामा धेरै शब्द फारसी, अरबी र अंग्रेजीबाट भित्रिने क्रम बढेको छ। अरबी र फारसी भाषाका शब्द लेखेपछि नेपाली भाषा हराउँदै जान्छ। नेपालको प्राज्ञिक लेखनमा भाषिक एकरूपता देखिँदैन। विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरू पनि यसमा गम्भीर भएको पाइँदैन।
उदाहरणका लागि ‘शालिक’ शब्दलाई लिऔँ न। अमूर्तलाई मूर्त बनाउने मूर्ति हो। अप्रतिम (अद्वितीय वा अनुपम) को प्रतिकृतिलाई प्रतिमा भनिन्छ। यसकारण पूजा गरिने मूर्तिलाई प्रतिमा भनिन्छ। एउटा मूर्तिको अनुकरण गरी अर्को मूर्ति बनाइए प्रतिमूर्ति हुन्छ। हामीसित धेरै मूर्तिशास्त्र र प्रतिमाशास्त्र छन् तर सालिकशास्त्र हुँदैन। शालिक एकजना पौराणिक ऋषिको नाम हो। उड्ने वा हिँड्नेलाई अरबीमा सालिक वा सालिग भनिन्छ। नेपालीसहित कुनै भारतीय भाषामा सालिक वा सालिग शब्दको अर्थ लाग्दैन। मूल अरबीमा सालिक वा सालिक शब्द ‘शलाका’ बाट बनेको हो, यसको अर्थ यात्री वा पथिक हो। कुनै व्यक्ति कुनै विशेष आध्यात्मिक शिक्षक (मुर्शिद) वा सूफी गुरुको शिष्य बनेमा सालिग वा सालिक हुन्छ। यसरी हामीले गलत शब्दको प्रयोग गरिरहेका छौँ।
अरबको मरुक्षेत्रमा स्थापित अब्राहमेली धर्म परम्परा (जुडा, इसाई र इस्लाम) मा मूर्तिपूजाको प्रावधान पाइँदैन। भौगोलिक कारणले यस्तो भएको हो। अरबतिर राम्रा माटा भए पो मृणमूर्ति बनिन्थे, राम्रा ढुंगा भए पो प्रस्तरमूर्ति बनिन्थे, राम्रा रूख र काठ पाइए पो काष्ठमूर्ति बनिन्थे।
भारतमा भने संविधानअनुसार देशमा रहेका सबै क्षेत्रीय भाषाहरू र मान्यता प्राप्त भाषाहरू लेख्नुपर्छ। जहाँनेर आफ्नो शब्द पाइँदैन, छिमेकी भाषिक समुदायबाट लिनुपर्छ। त्यहाँबाट पनि नपाए संस्कृत भाषाको सहायता लिनु भन्ने संवैधानिक प्रावधान छ। नेपालमा भाषाका बारेमा यस्तो कुनै विधि बनाइएको देखिँदैन।
सहरको ठाउँमा नगर प्रयोग गर्न सकिँदैन? विराटनगर, महेन्द्रनगर, वीरेन्द्रनगर त छन् नि। नेपालमा केही दिनअघि सांसदहरूले शपथ लिए। शपथमा लेखिएको भाषा सामाजिक सञ्जालमार्फत पढ्दा दयनीय अवस्था रहेछ भन्ने बोध भयो। शपथ ग्रहण समारोहमा के भाषा बोलेका ती सांसदहरूले? नेपाली भाषा भन्नै लाज मान्नुपर्ने अवस्था रहेछ। शपथमा ‘निष्ठावान्’ हुनुपर्नेमा ‘बफादार’ लेखिएको छ। ‘भय’ हुनुपर्नेमा ‘डर’ लेखिएको छ। ‘दुर्भावना’ लेखे पुग्नेमा ‘खराब भावना’ लेखिएको छ। ‘धारा’ लेख्नुपर्नेमा ‘दफा’ लेखिएको छ। ‘कार्यवाही’ लेख्नुपर्नेमा ‘कामकाज’ लेखिएको छ। ‘प्रचलित विधि’ लेखे हुनेमा ‘प्रचलित कानुन’ लेखिएको छ। ‘हस्ताक्षर’ लेखे हुनेमा ‘दस्तखत’ लेखेर नेपाली शब्दको बेवास्ता गरिएको छ। यसैगरी शपथमा अंग्रेजी र हिन्दीको उल्था कि को प्रयोग गरिएको छ। टेलिभिजनको नामै हेरिसक्नु छैन, ताजा खबर, सरोकारजस्ता टेलिभिजनका नाम छन्। यस्ता कुरा विश्वभर पुगेका छन्। यस्ता शब्द प्रयोग हुँदा ती देशका मानिस खुसी हुने भए। नेपाली त हराउँदै जाने भयो।
नेपाली भाषामा यस्ता विकृति कसरी भित्रिएको पाउनुहुन्छ?
नेपालको नेपाली भाषामा फारसी र अरबीको प्रभाव पर्नुमा राजप्रासादीय भाषिकाको ठूलो भूमिका छ। मुसलमानी भाषालाई राजप्रासादले मान्यता दियो। सोही आधारमा नेपाली भाषामा अरबी र फारसी शब्द भित्रिएका हुन्। नेपालीमा साल भनेको गर्भे आन्द्रो हो कि त रूख हो। नेपालीमा वर्षलाई साल भनेर हुँदैन। हाम्रो त वर्ष हुन्छ, संवत् छ, संवत्सर हुन्छ। अब्द हुन्छ। त्यति मिठा शब्द हुँदाहुँदै हामी साल साल साल मात्रै बोकेर हिँडेका छौँ। मस्तिष्क हुँदाहुँदै हामी दिमाग खराब गरिरहेका छौँ। प्रलेख छँदाछँदै दस्ताबेज प्रयोग गर्नु राम्रो हुँदै होइन। तिर छँदाछँदै तर्फ, भिन्न छाडेर फरक, चिनारी छाडेर पहिचान शब्द प्रयोग भइरहेको छ। यी शब्द प्रयोग गर्नु नराम्रो होइन तर सजिला र हाम्रा शब्द प्रयोग गर्नुपर्छ।
विदेशी भाषका शब्द प्रयोग गर्दै जाँदा बिस्तारै भाषामा बाहिरी प्रभाव बढ्दै जान्छ। भाषाका यस्ता पक्षलाई जोगाउन सकिएन भने अरबी भाषाको खाडलमा पर्यो भने कसरी नेपाली भाषा जोगाउने? अहिले नेपालबाट प्रकाशित भएका स्वनामधन्य लेखकका साहित्यिक एवम् गैरसाहित्यिक कृतिहरूमा पनि फारसी र अरबी भाषाको व्यापक प्रभाव देखिएको पाउँछु। विदेशी भाषाका शब्दको सट्टा स्वदेशभित्रकै भाषाको शब्द प्रयोग गर्दा सान्दर्भिक हुन्छ। उदाहरणका लागि ‘कोट’ अंग्रेजी शब्द हो। यसको नेपाली नाम नहुन सक्छ। अंग्रेजीको सट्टा कोटका लागि गुरुङ भाषाको ‘लुकुनी’ प्रयोग किन नगर्ने? सकेसम्म नेपाली भाषाका शब्द प्रयोग गर्नुपर्छ। त्यो नभए नेवारी, राई, लिम्बू, मगर, थारूजस्ता भाषाका शब्द प्रयोग गर्नुपर्छ। त्यसमा पनि शब्द नपाए संस्कृतका शब्द प्रयोग गर्दा उचित हुन्छ। अनि मात्र विदेशी आगन्तुक शब्द प्रयोग गर्दा नेपाली भाषा र नेपालका सबै भाषाको सम्मान हुन्छ र नेपाली भाषाको मौलिकता हराउँदैन। यसका लागि राज्यले नै नीति बनाएर लागू गर्नुपर्छ।
विद्यालय तहदेखि उच्चशिक्षा (कम्तीमा स्नातकोत्तर) सम्म नेपाली विषय अनिवार्य रूपमा पढाउनुपर्छ। प्रयोजनपरक नेपाली सम्बन्धित स्तरमा राख्न सकिन्छ। जस्तै- विधिशास्त्र पढ्नेहरूका लागि विविशास्त्रीय नेपाली, व्यवस्थापन पढ्नेका लागि व्यवस्थापन नेपाली, इन्जिनियरिङ नेपाली, पत्रकारिताको नेपाली जस्ता विषयको अध्यापन गराउँदा भाषा बलियो हुन्छ।
भाषा शुद्धीकरण गर्न मराठीबाट पनि सिक्न सकिन्छ। मराठीमा १७ औँ शताब्दीमा शिवाजी महाराजले अरबी र फारसी नमिसाउन सचेत गराएका थिए। यसो गरेमा दण्ड दिने प्रावधान थियो। मराठीहरूले त्यसलाई पालना गरे। सोही कारण अहिले मराठी भाषा शुद्ध छ। ईश्वरचन्द्र विद्यासागरको आग्रहमा संस्कृतनिष्ठ बंगला बनेको हो।

नेपाली भाषा शुद्धीकरणका लागि भारतमा तपाईँहरूबाट के कस्ता कार्यहरू भइरहेका छन्?
शुद्धीकरणका लागि प्राज्ञिक तहमा गोष्ठी भइरहेका हुन्छन्। यसका लागि राज्यको सहयोग आवश्यक पनि हुँदैन। प्रशासनमा बस्नेले पनि यस्ता कुरा थाहा पाउँदैनन्। किनभने उनीहरूको शैक्षिक योग्यता कम हुन्छ। ज्ञानको तह कम हुन्छ। त्यसैले यस्ता विषयमा प्राज्ञिक तहबाट सुधार प्रयास गरिरहेका छौँ।
हामीले हाम्रा शोधार्थीहरूलाई नेपालका स्वनामधन्य लेखकका कृतिमा प्रयोग भएका फारसी, अरबी भाषाका शब्द खोज्न लगाउने गरेका छौँ। कतिपय कृतिमा त नेपाली भन्दा अन्य भाषाका शब्द पो धेरै प्रयोग भइरहेका छन्। यसबाट उनीहरूमा पढ्ने बानीको विकास भएको छ भने भाषा र शब्द प्रयोगप्रति पनि सचेत भएको पाउँछौँ। भारतका नेपाली पढाइ हुने विश्वविद्यालयका एमए र पीएचडीको शोधमा अरबी र फारसी भाषाको शब्द प्रयोग हुन छाडेको छ। शुद्ध नेपालीमा कति राम्रो शोध बन्छ। प्राज्ञिक लेखनशैलीको एउटा ढाँचा बनाएका छौँ।
भारतका विश्वविद्यालयहरूमा नेपाली भाषासाहित्यप्रति विद्यार्थीका आकर्षण कस्तो पाउनुभएको छ?
काशी हिन्दू विश्वविद्यालयमा बीएमा १२ सय जति छन्। एमएममा चाहिँ भारतका १२/१३ विश्वविद्यालयमा गरी पाँच सय जति विद्यार्थी स्नातकोत्तर तहमा नेपाली पढिरहेका छन्। काशी हिन्दू विश्वविद्यालयमा एक वर्षमा ३० जना नयाँ भर्ना हुन्छन्। उत्तरबंग विश्वविद्यालयमा एमए नेपाली पढ्ने ८० जना विद्यार्थी छन्। दार्जिलिङ कलेजमा ३० जना, गुवाहाटीमा ३० जना, खर्साङ कलेजमा २० जना, सिक्किम विश्वविद्यालयमा ७० जना र कञ्चनजंघा विश्वविद्यालयमा ८० जनाले नेपाली एमए पढिरहेका छन्। भारतमा पढेपछि वृत्तिमा जोडिइहाल्छ। नेपालमा त्यस्तो देखिएको छैन।
विश्वविद्यालयको कक्षामा के कस्ता समस्या आइलाग्छन्? तिनको गाँठो कसरी फुकाउने गर्नुभएको छ?
म काशीमा बस्छु, त्यहीँ पढाउँछु। काशी प्रकाश नगरी हो। विद्यार्थीलाई पढाउँदा मैले कुनै कुरा स्पष्ट पार्न सकिनँ भने र गाँठो खोल्न सकिनँ भने गंगाजीमा गएर सोध भन्ने गर्छु। यसो भन्नुको अर्थ एकान्तमा गएर बस अनि ज्ञानको प्रकाश देखिन्छ भनिएको हो। यस्तो अभ्यास काठमाडौँमा पनि गर्न सकिन्छ नि। यहाँ पनि मञ्जुश्रीले दिएको वागमती र विष्णुमती छन्। तिनको प्रवर्धन गर्नु पर्दैन नेपालीहरूले?
मान्छेका सोच्ने क्षमता र तह भिन्नभिन्न हुन्छ। कसैलाई वेदका ऋचा चाँडै वाचन गर्न आउँछ। ऋचा पढ्न नसक्ने विद्यार्थीलाई उपनिषद् अध्ययन गराउनुपर्छ। तेस्रो तहका विद्यार्थीलाई गीताजस्तो कथा पढाउनुपर्छ। चौथो स्तरका विद्यार्थीलाई पुराणको शैलीमा पढाउनुपर्छ। हाम्रा सामाजिक मूल्यमान्यतालाई प्रतीकात्मक रूपले बुझाउन सक्नुपर्छ। विज्ञानको कोणबाट बुझाउन सक्नुपर्छ। तर त्यस्तो खालको पुरोहित नै छैनन् नेपालमा।
तपाईँ बेलाबखत हिन्दू सनातन सभ्यताका बारेमा पनि आफ्ना गहन र व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्नुहुन्छ। धर्म र संस्कृतिका विषयमा तपाईँको धारणा के छ?
नेपालमा हिन्दू सनातन, बौद्ध र मुन्धुम धर्म मान्ने मानिसहरूको बसोबास रहँदै आएको छ। यी धर्मका मानिसहरूमा आपसी भाइचाराको सम्बन्ध देखिन्छ। मुसलमानसहितका केही धर्म मान्ने नेपालीहरू पनि मिलेरै बसेका छन्। नेपाल सनातन सभ्यताबाट विकसित देश हो। नेपाली कला, संस्कृति, मठमन्दिर र रहनसहनले नै यो कुरा पुष्टि गरेको छ। सनातन सभ्यतालाई अवलम्बन गरेर देश अघि बढ्न सक्छ। बेलाबेलामा धर्मका नाममा अनेक खालका विवाद निम्त्याउन खोजिन्छ। हिन्दू धर्मले नै सबैलाई मिलाएर राख्न सक्छ। नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको छ। राजनीतिक रूपमा केही समूहले आफ्नो स्वार्थ पूरा गरेका हुन सक्छन्।
यो दुर्भाग्यपूर्ण काम भएको छ। यहाँका संरक्षित मठमन्दिर, विशिष्ट वास्तु र धर्मपरम्पराले युक्त नेपालको धर्मसापेक्षतालाई प्रतिष्ठा गर्नुपर्छ। नेपाल धर्मच्यूत कहिल्यै नहोस्, धर्म भंग गर्ने अभियान र आन्दोलन अब कहिल्यै नहोस् भन्न चाहन्छु। अर्को कुरा, नेपालले दिन सक्ने भनेको आध्यात्मिक ज्ञान र वैज्ञानिक विचार हो। गौतम बुद्धले प्रचार गरेका विषय हुन्। नेपालले बाहिर के देखाउन सक्छ भन्ने स्पष्ट हुन्छ। ज्ञान परम्पराका कुरालाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्छ।
हिन्दू भनेको स्वयंमा धर्म हो। मानिस जन्मँदा सनातनी भएर जन्मिन्छ। प्रकृतिको उत्पत्ति नै छैन। अन्त्य पनि छैन। त्यो सनातन हो। जो पनि सनातन हुन्छ। हिन्दू धर्मको विशेषता भिन्न छ- टीका लगाउने पनि हिन्दू, नलगाउने पनि हिन्दू। मन्दिर जाने पनि हिन्दू, नजाने पनि हिन्दू। मासु खाने पनि हिन्दू नखाने पनि हिन्दू। त्यसैले हिन्दू धर्म प्रजातान्त्रिक धर्म हो। यो धर्मले मानिसलाई छुट्ट्याउँदैन। उदार चरित्र सनातनीमा मात्रै छ। भनिएको छ –
अयं निज: परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्॥
धर्मको अंग्रेजी अनुवाद छैन। रिलिजन भनेको सम्प्रदाय हो। पन्त हो। इस्लाम रिलिजन हो, सम्प्रदाय हो। इसाई पनि सम्प्रदाय हो। ती धर्ममा एक प्रकारको कडा व्यवस्था हुन्छ। हिन्दू धर्म त्यस्तो छैन। हाम्रोमा ३३ प्रकारका देवता छन्। कसैले ३३ कोटी पनि भनेका छन्। वनस्पति नै वनस्पति, जनावर नै जनावर, खोलैखोला, आकाशैआकाश, ग्रह-नक्षत्र आदि गरेर हामीकहाँ धेरै देवीदेवताको अस्तित्व छ।
देउता भनेका के हुन् त उसो भए? देउतामा पनि पुरुष र नारीको अस्तित्व कसरी रहन गएको छ?
जसले हामीलाई केही दिएका छन्, तिनै देउता हुन्। सूर्यले ऊर्जा दिइरहेको छ, त्यसैले सूर्य देउता हो। सभ्यताको विकासक्रम हेर्ने हो भने प्राचीन कालमा हामी देवीलाई मान्दथ्यौँ। सूर्यदेवी, जलदेवी, अग्निदेवीको अस्तित्व थियो। पितृसत्तात्मक समाजको विकास भएपछि देवतालाई पनि पुरुषप्रधान बनाइएको हो। नेपाली सभ्यताकै कुरा गरौँ न, खसको सबैभन्दा शक्तिशाली महिला यक्षिणी हो। यक्षणीलाई आर्यहरूले बिस्तारै ग्रहण गर्दै लक्ष्मी बनाए। लक्ष्मीलाई आर्यदेवता विष्णुसँग बिहे गरिदिए। पुराणहरूमा आइपुग्दा लक्ष्मी विष्णुको सेविका बनाइएकी छन्।
विष्णु युद्ध जितेर जान्छन्। सागरमा बस्छन्। अनि लक्ष्मीलाई सेविका बनाउँछन्। त्यत्रो शक्तिशाली यक्षिणी खसहरूकी देवीलाई आर्यहरूले सेविका बनाइदिए नि। पुरुषचाहिँ आराम गर्छ। नारीले चाहिँ सेवा गर्नुपर्छ। पुराणहरूमा विष्णुलाई साहसी र देवीलाई सेविकाका रूपमा चित्रण गरिएको पाइन्छ। त्यसको प्रभाव अहिलेसम्म समाजमा कायमै छ। वेद-उपनिषद्मा यस्ता कुरा छैनन्।
हामी मृत्युमा १३ दिन जुठो बार्दा गरुड पुराण लगाउँछौँ। उक्त पुराणमा यमराज लिन आएको प्रसंग छ। यम भनेको अनुशासन हो। यमराज भनेको अनुशासनको राजा हो। हाम्रा सबै गतिविधि अनुशासनले निर्धारण गर्दछ। अनुशासनले कर्मलाई निर्धारण गर्दछ। हामीले जस्तो कर्म गर्यौँ त्यस्तै फल पाउँछौँ।
हामी शास्त्रीय मान्यताअनुसार पुनर्जन्म, मृत्यु, स्वर्ग, मोक्षबारे विश्वास गर्छौँ। यसलाई कसरी बुझ्ने होला?
पुनर्जन्म हुनका लागि मर्नैपर्छ भन्ने छैन। यही जन्ममा पनि हामीले विभिन्न स्वरूप लिइरहेका हुन्छौँ। गत वर्षको मन यसपालि छैन। जस्तै- पोहोर मलाई पाखुरामा ट्याटु बनाउन मन लागेको थियो, बनाएँ। पाखुरा देखाउँदै हिँडेँ। यसपालि त्यसरी देखाउन मन लागेको छैन। पोहोरको मन यसपालि नभएर यस्तो भएको हो। पोहोर म बिग्रिएको थिएँ। यसपालि सप्रिएको छु। त्यही पुनर्जन्म हो नि।
यमराजले चित्त, हंस वा प्राणलाई चित्रगुप्तकहाँ पुर्याइदिन्छ। चित्रगुप्तकहाँ पुर्याउनका लागि वैतरणी नदी तर्नुपर्छ। वैतरणी भनेको पिप र रगतले भरिएको हुन्छ। पिप र रगत भनेको ‘एन्जाइटी’ हो। ‘एन्जाइटी’ बाट मुक्त हुनुपर्छ। यसमा गाई सहयोगी हुन्छ। गाई पवित्रताको प्रतीक हो। प्राचीनकालमा ठूलो नदी तर्न गाई अगाडि लगाइन्थ्यो। सनातनी समाजमा कसैको मृत्युपछि श्रद्धाञ्जलिस्वरुप ‘रेस्ट इन पिस’ भन्नु हुँदै-हुँदैन। इसाई र मुसलमानको शव गाडिन्छ। माथिबाट काँटीजस्तोले छोपिन्छ। ‘जजमेन्ट डे’मा अल्लाह वा इसु आएर स्वर्ग जाने कि नरक जाने भनेर सोध्छन्। त्यही दिन निर्णय हुन्छ। त्यो आजको भोलि हुँदैन। त्यही अवधि पर्खनका लागि ‘शान्तसँग विश्राम गर्दै गर’ अर्थात् ‘रेस्ट इन पिस’ भनिएको हो।
स्वर भनेको आकाश हो, ग भनेको जानु हो। त्यसैले स्वर्ग भनेको आकाशमा जानु हो। आकाश कहाँ छ भने ‘एषा अन्तहृदय’ आकाश भनेर उपनिषद्ले भनेको छ। यसको अर्थ हो, हृदयभित्र आकाश छ। त्यसैले स्वर्गनरक यहीँ भित्र छ।
बुद्धले वेद-उपनिषद्को ज्ञानलाई वैज्ञानिक रूपमा प्रकाश पारेका छन्। जैनमा मोक्षलाई कैवल्य भनिएको छ। हाम्रो मोक्ष पनि यही जीवनमा हुन्छ। बुद्धले ३५ वर्षमै निर्वाण प्राप्त गरेका हुन्। भौतिक मृत्यु हाम्रा लागि मृत्यु होइन। यो त लुगा फेरेजस्तै हो। गीताले पनि त्यही भनेको छ- ‘वासांसी जीर्णानी यथा विहाय…।’ हामी मृत्युबाट अमृततत्त्वतर्फ लाग्छौँ। हामी अमृततिर जान्छौँ। हामी त मर्दैनौँ नि।
धर्मलाई भूगोलले पनि प्रभाव पारेको हुन्छ। हाम्रोमा प्रकृति आमाका रूपमा विद्यमान छ। त्यसैले पनि हाम्रो समाज मातृसत्तात्मक छ। हामी जतासुकै हरियाली देख्छौँ। खोलानाला देख्छौँ। जे पनि पाउँछौँ। यही अनेक प्रकार भएकाले पनि रातोलाई शक्तिका रूपमा लिन्छौँ हामी। रातो भनेको नयाँ प्रकाश हो। लालिमा हो। रातो भनेको आरम्भ हो। नयाँ ज्ञान र विचारको उदय भइरहोस् भनेर रातो प्रिय भएको हो। अरब उजाड भएकाले उनीहरूले हरियो मन पराएका हुन्। जहाँ प्राकृतिक हरियाली हुँदैन त्यहाँ हरियालीप्रति बढी आस्था हुन्छ। मुसलमान बाहुल्य देशमा हरियो झन्डा हुनुको कारण एउटा यो पनि हो। कतै केही समर्पण गर्दा पनि हरियो नै चढाइन्छ। अरबका धर्महरूमा अलिक भिन्न छ। त्यताको प्रकृति उजाड छ। मरुभूमि नै मरुभूमि छ। जे कुरा हुँदैन नि त्यही कुरा मानिसले खोजिरहेको हुन्छ। अप्राप्य चीजको मोह हुन्छ। द्रविडहरूको रङ कालो हुन्छ। त्यसैले उनीहरू सेतो मन पराउँछन्।
अन्त्यमा, नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन कत्तिको उपलब्धिमूलक भयो?
नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका प्राज्ञहरूको बृहत् सम्मेलन सम्भवतः भारतवर्षमै पहिलोपटक भएको हो। नेपाली भाषासाहित्यमा पहिलोपटक विद्यावारिधि गर्ने प्रा.डा. वासुदेव त्रिपाठीदेखि पछिल्लो पिँढीबाट विद्यावारिधि गर्ने सम्मका प्राज्ञहरूको सहभागितामा एउटा ऐतिहासिक अनुष्ठान सम्पन्न भएको छ। सम्मेलनका क्रममा सार्वजनिक गरिएको ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ ऐतिहासिक ग्रन्थ बनेको छ। यति ठुलो सम्मेलन निजी स्तरबाट हुनु पक्कै पनि सजिलो काम थिएन। तापनि नइ प्रतिष्ठानले एउटा उल्लेखनीय दायित्व पूरा गरेको छ। सम्मेलनबाट हामीलाई पनि निकै ठूलो लाभ भएको छ। कतिपय विस्मृतिमा जान लागिसकेका विषय उजागर भएका छन्। यस्ता सम्मेलन सरकारी स्तरबाट हुनुपर्छ। सम्मेलनले हामीलाई पनि गतिलो पाठ सिकाएको छ।




