बालविकास कक्षा । तस्बिर : एआई
काठमाडौँ- दैलेखको भैरवी गाउँपालिकाले सामुदायिक विद्यालयमा गाउँपालिकाको अनुदान रकमबाट तलबभत्ता खाने गरी नियुक्त प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), करार शिक्षक, विद्यालय कर्मचारीलाई यही वैशाख १ गतेदेखि विद्यालयमा हाजिर नगराउन तथा हाजिर नगर्न निर्देशन दिएको छ।
पालिकाले प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई पत्र पठाउँदै उक्त निर्देशन दिएको हो। पालिकाले पत्रमा अनुदान रकम सकिएको जानकारी गराएको छ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित रु. ८०,००,००० (अक्षरुपी असी लाख मात्र) अनुदान बजेट २०८२ साउनदेखि कात्तिक मसान्तसम्म तथा चाडपर्व खर्चसहित मात्र पर्याप्त भएको र २०८२ मंसिर ४ गतेको बैठकको निर्णयअनुसार चैत मसान्तसम्म मात्र तलबभत्ता दिन सकिने छ।
नयाँ शैक्षिक सत्र २०८३ का लागि हालसम्म कुनै निर्णय नभएकाले अनुदानबाट तलब खाने शिक्षक तथा कर्मचारीको सेवा निरन्तरताबारे अन्योल रहेको गाउँपालिकाले बताएको छ।
पत्रमा भनिएको छ, ‘२०८३ वैशाख १ गतेदेखि कुनै पनि विद्यालयमा अनुदानबाट तलब भत्ता खाने गरी नियुक्ति भएका शिक्षकलाई हाजिर नगर्नु नगराउनु हुन र थप तलब भत्ता खाने बालविकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र लेखा सहायकले थप सुविधा नपाउने सबैमा अनुरोध गरिन्छ।’
गाउँपालिकाले उक्त निर्देशन विपरीत कार्य भएमा त्यसबाट उत्पन्न हुने आर्थिक दायित्व आफूले व्यहोर्न नसक्ने समेत जानकारी गराएको छ।
यस्तो छ पत्र





