वैशाख १५ कुर्न सकिन्न,तत्काल भर्ना र कक्षा सुरु गर्न गरौं,आइतबार पनि कक्षा चलाउनुपर्छ : रमेशबाबु भट्टराई

हिमाल प्रेस २ वैशाख २०८३ १०:३१ | Wednesday, April 15, 2026
416
SHARES
वैशाख १५ कुर्न सकिन्न,तत्काल भर्ना र कक्षा सुरु गर्न गरौं,आइतबार पनि कक्षा चलाउनुपर्छ : रमेशबाबु भट्टराई

काठमाडौँ- सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेपछि शिक्षक नेता रमेशबाबु भट्टराईले उक्त निर्णय व्यवहारिक नभएको भन्दै तत्काल कार्यान्वयन गर्न नसकिने प्रतिक्रिया दिएका छन्।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी निर्देशन पालना गर्न नसक्ने बताएका हुन्। उनले लेखेका छन्, ‘सरी, सरकार निर्देशन पालना गर्न सकिएन। बरु कार्बाही स्विकार्य छ।’

उनका अनुसार शैक्षिक सत्र ढिला गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना प्रभावित हुन्छ। ‘वैशाख सुरुबाटै भर्ना अभियान सुरु गरौं। संस्थागत विद्यालयमा सुरु भइसक्यो। विद्यार्थी सामुदायिक विद्यालयमा भएनन् भनेर गाली खाने शिक्षक हो। वैशाख १५ कुर्न सकिन्नँ,’ उनले उल्लेख गरेका छन्।

त्यस्तै, राष्ट्रिय पाठ्यक्रम अनुसार २०५ दिन विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले आइतबारको बिदाले लक्ष्य पूरा नहुने उनको भनाइ छ।

“राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार २०५ दिन विद्यालय खुल्नु पर्नेछ। आइतबार बिदाले त्यो पुग्दैन, आइतबार पनि विद्यालय खोलौं,” उनले सुझाव दिएका छन्।

सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको छ। हप्तामा शनिबार र आइतबार दुई दिन बिदाको निर्णय कार्यान्वयन भइसकेको छ।

भट्टराईले वैशाख २ गतेदेखि नै भर्ना र पठनपाठन सुरु गर्नुपर्ने धारणा राख्दै बालबालिकालाई अनावश्यक ढिलाइ नगर्न आग्रह गरेका छन्।

‘वैशाख २ गतेदेखि भर्नासहित पठनपाठन सुरु गरौं। हाम्रा बालबालिकालाई घरमा बिहान बेलुकी काफी छ व्यवहारिक सीप सिक्न,’ उनले लेखेका छन्।

उनले शैक्षिक योजना र सामग्री निर्माण पठनपाठनसँगै गर्न सकिने उल्लेख गर्दै शिक्षक आन्दोलनबारे पनि बालेका छन्। ‘शिक्षक आन्दोलन शैक्षिक सुधारको पक्षमा थियो। शिक्षक आन्दोलनका कारण बालबालिका मर्कामा परे भन्ने अभिभावक जागरुप हुनुपर्‍यो,’ उनले भनेका छन्।

प्रकाशित: २ वैशाख २०८३ १०:३१ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast