इजरायल-प्यालेस्टिन द्वन्द्वको मारमा नेपाली

चार दिनअघि फोन गरेर पैसा पठाउँछु भनेका नारायणको खबरले घरपरिवार विक्षिप्त

पदमराज भट्ट २२ असोज २०८० १९:१५
20
SHARES
चार दिनअघि फोन गरेर पैसा पठाउँछु भनेका नारायणको खबरले घरपरिवार विक्षिप्त

धनगढी- इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणमा परी निधन हुने १० जना नेपालीमध्ये एक कैलालीको घोडाघोडी नगरपालिका-४ का नारायणप्रसाद न्यौपाने पनि हुन्। इजरायलमा रहेको नेपाली दूतावासले न्यौपानेसहित १० जनाको मृत्यु भएको पुष्टि गरेको छ। अचानक भएको घटनाको खबर घोडाघोडीमा न्यौपाने परिवारलाई पत्याउन मुस्किल भइरहेको छ।

४ दिनअघिमात्रै घरमा फोन गरेर आमासँग केही दिनमै पैसा पठाउँछु भनेका थिए नारायणले। फोन गरेर पैसा पठाउने छोराको मृत्युको खबर सुन्दा परिवारलाई पत्याउन मुस्किल भइरहेको छ। उनका बुवा हरिकृष्ण र आमा विक्षिप्त बनेका छन्। बुवा हरिकृष्ण घरि रुन्छन्, घरि मौन हुन्छन्,‘मेरो छोरो मरेको छैन। चाँडै घर फर्किन्छ,’ भन्दै उनी मौन बसे। हरिकृष्णले आफूलाई सम्हाल्ने प्रयास गरिरहेका छन्। तर सकिरहेका छैनन्।

उनीसँगै भएका छरछिमेक र आफन्तले सम्झाउने र सान्त्वना दिने प्रयास गरिरहेका छन्। न्यौपाने परिवार यतिबेला विक्षिप्त छन्। बुबा पीडाको भारी बोकेर छोराको सास नभए पनि लासको पर्खाइमा छन् । घरमा आउने आफन्तहरूको आँखा आँसुले रसाएका छन्।

शनिबार प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएको खबरसँगै कैलालीको घोडाघोडी नगरपालिका–४ जनपुरका २४ वर्षिय नारायणप्रसाद न्यौपानेका घर परिवारका सदस्य मुर्छित छन्। नारायणप्रसादको मृत्यु भएको खबर आफन्त परिवारहरूले ढिलो गरी घरपरिवारलाई सुनाएका थिए। खबर पछि आफन्त र छरछिमेकी जम्मा भएर बुवा न्यौपाने परिवारलाई सान्त्वना दिइरहेका छन्। तर सम्झाएर कहाँ सम्झिन्छ र मन। मनै त हो। कहाँ थाम्न सकिन्छ र! हरिकृष्णका तीन छोरा र एक छोरी छन्। नारायण ६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो।

दुई छोरा र एक छोरी भएका हरिकृष्ण न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याएका हुन। सीताबाट एक छोरा छन्। सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पूरा गर्दै आएकी छन्। इन्टेरनेटमा पैसा सकिएपछि छोरासँग कुरा नभएको चार दिन भएको रहेछ। नारायण परिवारका तीन छोरामध्ये माइला छोरा हुन्। सानैदेखि पढाइमा जेहेन्दार नारायणले एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय लिएर पढ्ने इच्छा जाहेर गरे।

नजिक कलेज नभए पनि दुखसुख गरेर छोरालाई रोजेको विषय पढाउन महेन्द्रनगर पठाए। महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर ल्याएर कक्षा १२ पास भएका नारायणले स्नातक तह टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो।

नारायणले क्याम्पसले विदेश पठाउने भएको खबर परिवारलाई सुनाएका थिए। आमा सिताका अनुसार जेठोले कक्षा १० सम्म मात्र पढ्यो। विवाह गरेर अहिले बुढाबुढी दुवै भारतमा छन्। कान्छो छोरो भर्खर ६ कक्षामा पढ्दै छन्। गाउँमा खेतीपातीबाट नै जीवन निर्वाह गर्ने न्यौपाने परिवारमा भाइकै पढाइ खर्च जुटाउन नारायणका दाजु भारतमा मजदुरी गर्दै आएका छन्। नारायणले इजरायल जानुभन्दा पहिले ६ महिना दार्चुलामा तालिम (इन्टर्न) गरेर आएका थिए।

आमा सीताले गहभरि आँसु पार्दै भनिन, ‘चार दिन अगाडि छोरासँग कुरा हुँदा राम्रै कुरा भएको र खर्च पानी नभए दुई दिन पछि पठाउने कुरा भएको थियो। दाइले पैसा नपठाएपछि तलब आउँछ दुई दिन पछि म पठाईदिन्छु भनेको थियो।’

इजरायल पुगेको पर्सी पल्टदेखि नै नारायणले काम गर्न थालेका थिए। कमाइ राम्रै हुने नारायणले बताएका उनकी आमा बताउँछिन्। एक हातले आँसु पुच्छै सीताले भनिन्,‘केही दिनमा पैसा पठाउँछु। पठाएको पैसाले ढुंगा बोकाउनु होला। घर बनाउनु छ। साँझ बुवा आए पछि कुरा गराइदिनु होला आमासँग नारायणले भनेका थिए।’ बाल्यकालमै जन्मदिने आमा गुमाएका नारायणलाई कान्छी आमाले हुर्काएकी थिइन्।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृषि फार्ममा थिए। सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीन मध्ये १० जनाको मृत्यु भएको छ। हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ। हमासको आक्रमणले एकातिर भर्खरै इजरायली भूमि टेकेका युवाहरूको सपना बिलाएको छ भने अर्कातिर उनीहरूका परिवारको आशा निभेको छ।

प्रकाशित: २२ असोज २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =