काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकरले बाढीपछि नेपालमा उत्पन्न विपद्बारे छलफल गरेका छन्।
उनले विदेश मन्त्रालयका पदाधिकारीका साथै काठमाडौँ तथा बेइजिङस्थित आफ्ना राजदूतहरूसँग छलफल गरेका हुन्।
बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकको स्थिति र नेपाललाई राहत सामग्री पठाउने विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले जनाएका छन्।
‘बाढी प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण भारतीय नागरिकहरुको स्थिति पत्ता लगाउन द्रुत गतिमा काम भइरहेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘विदेश सचिव, विदेश मन्त्रालयका टोली र काठमाडौँ तथा बेइजिङका हाम्रा राजदूतहरुसँग नेपालको बाढी विपद्का विषयमा समीक्षा बैठक सम्पन्न भयो।’
जयशंकरले विदेश मन्त्रालयले यस सम्बन्धमा विभिन्न मन्त्रालय, राज्य सरकार, टुर अपरेटर र आयोजना अधिकारीहरुसँग समन्वय गरिरहेको उल्लेख गरेका छन्।
उनले यस विषयमा र राहत कार्यका लागि नेपाली पक्षसँग मिलेर नजिकबाट काम गरिरहेको पनि बताएका छन्।


