परराष्ट्रमन्त्री खनालको जयशंकर र डोभालसँग भेटवार्ता : के भयो कुराकानी?

हिमाल प्रेस २३ जेठ २०८३ २१:३१ | Saturday, June 6, 2026
16
SHARES
परराष्ट्रमन्त्री खनालको जयशंकर र डोभालसँग भेटवार्ता : के भयो कुराकानी?

काठमाडौँ-भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकर र भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री खनालले शनिबार नयाँदिल्लीमा विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

विदेशमन्त्री जयशंकरसँगको भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायतका विषयमा छलफल भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालले विगतको भारी बोक्न नचाहेको बताएका थिए। उनले नेपाल र नेपाली नागरिक परिणामूखी कूटनीतिको पक्षमा रहेको बताए। त्यस्तै उनले भारतसँगको सम्बन्ध नेपालका लागि सधैँ उच्च प्राथमिकतामा रहेको बताए।

भारतीय विदेशमन्त्री जयशंकरले द्विपक्षीय व्यापार, कनेक्टिभिटी, ऊर्जा,एआईलगायतका विषयमा सहकार्य गर्न भारत तयार रहेको बताएका थिए।

‘भारतमा तपाईँ र तपाईँको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ। म दुई महिनाअघि मात्र मौरिससमा भएको हाम्रो भेट र कुराकानीलाई पनि स्मरण गर्न चाहन्छु। भारत–नेपालबीच पक्कै पनि एउटा विशिष्ट सम्बन्ध छ, जुन जीवन्त जनस्तरको सम्बन्ध, सीमापार कनेक्टिभिटी र साझा सांस्कृतिक तथा धार्मिक परम्पराहरूको बलियो जगमा निर्माण भएको हो,’ द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले भने।

परराष्ट्रमन्त्री खनालले त्यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग भेटवार्ता गरेका थिए। दुवै जनाबीचको भेटवार्ताका क्रममा ऊजा, कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको बताइएको छ।

परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा शुक्रबार उनले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए।

परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँदिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए। भ्रमण सम्पन्न गरी उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ जेठ २०८३ २१:३१ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast