काठमाडौँ- नेपालमा बाढी तथा पहिरोबाट उत्पन्न विपत्तिप्रति भारतले निरन्तर चासो राख्दै राहत तथा उद्धार कार्य र थप सहायता सामग्री पठाउने विषयमा उच्च तहमा छलफल अघि बढाएको छ। भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले शनिबार मन्त्रालयका उच्च अधिकारीहरूसँग नेपालमा जारी राहत तथा उद्धार कार्यको समीक्षा गर्दै थप राहत सामग्री पठाउने तयारीबारे छलफल गरेका छन्।
परराष्ट्रमन्त्री जयशंकरले मन्त्रालयका महाशाखाहरूले नेपालतर्फ पठाउनुपर्ने थप राहत सामग्रीबारे समीक्षा गर्दै आवश्यक व्यवस्था मिलाएको जानकारी दिएका छन्।
‘विदेश मन्त्रालयका महाशाखाहरूले नेपाल पठाउनुपर्ने थप राहत सामग्रीबारे हामीलाई जानकारी गराएका छन्,’ परराष्ट्रमन्त्री जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि पनि उनले नेपालमा बाढीपछि उत्पन्न परिस्थितिबारे मन्त्रालयका पदाधिकारी तथा काठमाडौँ र बेइजिङस्थित भारतीय राजदूतहरूसँग छलफल गरेका थिए।
परराष्ट्रमन्त्री जयंशकरले मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरेको भोलिपल्ट भारतको तर्फबाट थप ३७.५ टन राहत सामग्री नेपाल पुगेको थियो।
छलफलमा सहभागी अधिकारीहरूले राहत सामग्रीको व्यवस्थापनसम्बन्धि विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र राहत तथा उद्धार कार्यमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्रमन्त्री जयशंकरले जनाएका छन्।
छलफलका क्रममा काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासहरूले नेपालमा रहेका भारतीय नागरिकको स्थितिबारे अद्यावधिक विवरण प्रस्तुत गरेका थिए।


