काठमाडौँ- संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० अमेरिका जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन्।
भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिवलगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी रहने परराष्ट्र मन्त्रालयले बिहीबार जनाएको छ। उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्युयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारी र नेपालबाट केही सञ्चारकर्मी पनि रहनेछन्।
प्रधानमन्त्री प्रचण्डले महासभाको ७८ आँै उच्चस्तरीय छलफललाई असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम छ। महासभाको ‘सस्टेनेबल डेभलपमेन्ट गोल्स समिट, क्लाइमेट एम्बिसन’ लगायतका उच्चस्तरीय कार्यक्रममा पनि प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।
विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख वा उच्च राजनीतिक सहभागिता हुने राष्ट्र संघीय उक्त मञ्चमा नेपाल सरकारका विकास प्राथमिकता, प्रमुख उपलब्धि तथा चुनौती प्रस्तुत गर्ने अवसरसमेत प्राप्त हुने दाबी मन्त्रालयको छ।
जलवायु परिवर्तनसम्बन्धी ‘क्लाइमेट एम्बिसन समिट’मा भाग लिनका लागि संयुक्त राष्ट्रसंघका महासचिवबाट निमन्त्रणा पठाइएका मुलुकमा नेपालसमेत पर्नु गौरवको विषय भएकमो मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले भनेको छ, ‘जलवायु परिवर्तनका राष्ट्रिय मुद्दालाई विश्वसमुदायसामु मुखरित गर्न पाउनु आफँैमा महत्त्वपूर्ण विषय हो।’
प्रधानमन्त्रीले महासभाको साइडलाइनमा विभिन्न मित्रराष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछन।
अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यसपटक उक्त समूहको अध्यक्षसमेतका हैसियतबाट सभाको बैठक सञ्चालन गर्ने कार्यक्रम छ।
यसैगरी नेपालले साविक बमोजिम वार्षिक रुपमा आयोजना हुँदै आएका जी ७७ र चीन, एलएलडीसिजलगायतका बैठकमा समेत भाग लिनेछ।
महासभाको उच्चस्तरीय सत्रमा सहभागितापछि प्रधानमन्त्री प्रचण्ड छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।


