म्याग्दीमा हटाइयो अतिक्रमित संरचना

हिमाल प्रेस १९ भदौ २०८० ८:२८
8
SHARES
म्याग्दीमा हटाइयो अतिक्रमित संरचना

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ।

सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो। बेनी नगरप्रमुख सुुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुई पसलको संरचना सोमबार भत्काइएको जानकारी दिए।

‘व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुुई पसलको संरचना हटाएको छ’, उनले भने, ‘अतिक्रमण हटाएको ठाउँमा सवारीसाधन पार्किङस्थल बनाउँछौँ।’

सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुख केसीले बताए।

यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा, सटर, ट्यांकी र ठेला हटाइएको थियो। कालीपुलको अतिक्रमण हटाइएको ठाउँमा बसपार्क बनाइएको छ।

जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिको सार्वजनिक जग्गामा सघन सहरी तथा भवन डिभिजन कार्यालयमार्फत सडक ढलान र नाली निर्माण गरिएको छ। सो ठाउँबाट १५ वटा सटर र ट्यांकी हटाइएको थियो। ठेलामा फलफूल व्यवसाय गर्नेलाई अन्यत्र स्थानान्तरण गरिएको थियो।

नाली र ढलान भएपछि सो क्षेत्रमा धुुलो र हिलोको समस्या हटेको वीरेन्द्रचोक टोल सुधार समितिका पूर्वअध्यक्ष दलप्रसाद श्रेष्ठले बताए।

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन। उनीहरूलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ।

अन्यत्रको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सराहनीय काम गरे पनि नगरपालिका कार्यालय अगाडिको मोटरेबल पुल अतिक्रमण गरेर बनाइएको संरचना हटाउन बेवास्ता गरेको बजारवासीले नगरपालिकासँग गुुनासो गरेका छन्।

प्रकाशित: १९ भदौ २०८० ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast