राष्ट्रिय कर दिवसमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित

हिमाल प्रेस १ मंसिर २०८३ १७:१२ | Tuesday, November 17, 2026
राष्ट्रिय कर दिवसमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित

बुटवल- आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार संस्थालाई कदरपत्रसहित सम्मान गरिएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सम्मानपत्र संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीलाइ प्रदान गरेका हुन्।

आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्रका करदातामध्ये आर्थिक वर्ष २०८१/८२ मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई करोड २९ लाख ३९ हजार ६ सय ७० रुपैयाँ आयकर दाखिला गरी प्रथम स्थान हासिल गरेको आन्तरिक राजस्व कार्यालय बुटवलका कार्यालय प्रमुख हरि बस्यालले जानकारी दिए ।

त्यसैगरी सिद्धार्थ केबलकार लिमिटेडले दुई करोड २३ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ दाखिला गरी दोस्रो र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले दुई करोड पाँच लाख ४९ हजार दुई सय ५२ रुपैयाँ दाखिला गरी तेस्रो स्थान हासिल गरेका छन्।

सम्मान ग्रहणपछि संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले संस्थाले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित हुन पाउँदा गौरव महसुस भएको बताए।

बुटवल उपमहानगरपालिका–१०, कालिकानगरमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले “स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण” भन्ने मूल अभियानका साथ वित्तीय सेवा प्रदान गर्दै आएको छ। पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका ११ र पहाडी क्षेत्रका ८ गरी १९ जिल्लामा ३९ वटा शाखा सञ्चालन कार्यालयमार्फत करिब ६३ हजार परिवारलाई संस्थाले वित्तीय सेवा प्रवाह गरेको छ।

आयकर दाखिलामा प्राप्त यस सम्मानले संस्थाको वित्तीय अनुशासन, संस्थागत सुशासन, पारदर्शिता तथा राष्ट्रिय अर्थतन्त्रप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ। साथै, यस उपलब्धिले आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवा प्रवाह र सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन संस्थालाई थप प्रेरणा प्रदान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast