इटहरीमा सडक कालोपत्रे नभएपछि स्थानीयले गरे बाटो अवरुद्ध

हिमाल प्रेस २५ मंसिर २०७९ १४:१२
22
SHARES
इटहरीमा सडक कालोपत्रे नभएपछि स्थानीयले गरे बाटो अवरुद्ध स्थानीयले अवरुद्ध गरेको सडक।

इटहरी- इटहरीमा सडक निर्माण सुरु भएको एक वर्ष भइसक्दा पनि पूरा नभएपछि दबाब दिन स्थानीयले बाटो अवरुद्ध गरेका छन्। २०७८ कात्तिक २७ गतेबाट सडक निर्माण सुरु भए पनि हालसम्म निर्माण सम्पन्न नभएको भन्दै आइतबार स्थानीयले आन्दोलन गर्दै बाटो अवरुद्ध गरेका हुन्। इटहरी ८ स्थित बिजुली अफिस नजिकैबाट स्कुल मोडसम्मको करीब १ किलोमिटर सडक निर्माण सुरु भएको १३ महिना बितेपनि सम्पन्न नभएपछि आँफूहरू आजित भएको सडक निर्माण अनुगमन समिति संयोजक भीम बस्नेत (जंगली) ले बताए।

निर्माण सुरु भएको १३ महिना भए पनि कालोपत्रे गर्नेतर्फ ध्यान नदिएपछि स्थानीयहरू आन्दोलित भएका हुन्।  ‘सहायक बाटोमध्ये सबैभन्दा व्यस्त बाटो हो यो, दैनिक ४०/५० वटा स्कुल बस यहीँबाट हिड्छन्, विभिन्न सरकारी कार्यालय यही बाटोमा पर्छ,’ बस्नेतले भने, ‘तर हालसम्म कसैले चासो नदेखाउँदा ठेक्का लिने कम्पनीले निर्माण नै गरेन, हामीले बाध्य भएर सडक अवरुद्ध गरेका हौँ।’

उनका अनुसार पटक-पटक वडा कार्यालयमार्फत इटहरी उपमहानगरपालिकामा जानकारी गराइए पनि बजेट अभाव भएको भन्दै सडक निर्माण नभएको उनले बताए। उनका अनुसार उक्त ठाउँं इटहरी ८ को कार्यालय, यातायात व्यवस्था विभागको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय जाने बाटो हो। तर, कुनै पनि निकायले चासो नदेखाएका कारण आँफूहरूले दबाब दिनका लागि बाटोमा बाँस र स्याउला लगाएर अवरुद्व गर्न बाध्य भएको बस्नेतले बताए।

‘कतिको ठेक्का हो, कति समयसम्म निर्माण हुनुपर्ने हो,’ केही थाहा छैन, उनले भने, ‘हामीले पटकपटक जानकारी माग्दा पनि बेवास्ता गरेपछि बाटो नै अवरुद्ध गर्न बाध्य भएका हौँ।’ स्थानीय खगेन्द्र परियारका अनुसार आफूहरूले सडक निर्माणका लागि  दबाब दिए पनि ठेक्का लिने कम्पनी मूकदर्शक बनेको छ। ‘हामी यो सडक नबन्दा निकै पीडित छौँ,’ उनले भने, ‘ड्रेन बनाउने बेला स्थानीयबासीकै सहयोगमा माटो पनि लगाइयो, अहिले सडक बनाउने समयमा बजेटले भ्याउँदैन भनेर टार्ने काम भएको छ।’ ४० फुटे बाटोमा करीब २२ फुट मात्रै कालोपत्रे गरिने उनले बताए।

स्थानीयले सडक अवरुद्ध गरेपछि यो ठाउँबाट दैनिक आवतजावत गर्ने दर्जनौँ सवारी साधनका यात्रुले सास्ती खेपेका छन्। यता, निर्माणको जिम्मा लिएको गिरी कन्ट्रक्सनका ठेकेदार कुमार गिरीसँग भने पटकपटक सम्पर्क गर्न खोजिएपनि उनको फोन उठेन।
इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीले भने सडक निर्माण भइसक्नुपर्ने समयमा नभएपछि जनताले असह्य भएकाले बाटो अवरुद्व गरेको बताए।

‘ठेकेदारको कमीकमजोरी र नगरपालिकाको सिस्टमका कारण अहिलेसम्म सडक नबनेको हो,’ उनले भने, ‘जनताले कति सहने? समयावधिमा काम नगरेपछि नगरपालिकाले पनि एक्सन लिन सक्नुपर्छ।’ आँफूहरूले इटहरी नगरप्रमुख हेमकर्ण पौडेललाई पनि यस विषयमा पटकपटक जानकारी गराएको उनले बताए।

‘नगरपालिकामा जानकारी गराउँदा भोलिबाट, हप्तादिनबाट काम सुरु गर्ने कुरा आयो, अहिलेसम्म काम नै सुरु नभएपछि स्थानीयबासीमा असह्य भयो,’ वडाध्यक्ष चौधरीले भने, ‘बहुवर्षे योजना अन्तर्गत अघिल्लो आर्थिक वर्ष नै ठेक्का लागेको सडक हो, अब कालोपत्रेका लागि नगरपालिकाले नै एक्सन लिनुपर्छ।’ उनका अनुसार करीब ८६ लाख बजेटमा उक्त सडक निर्माणका लागि गिरी कन्ट्रक्सनले ठेक्का लिएको हो।

प्रकाशित: २५ मंसिर २०७९ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =