बाख्रापालन : जति उत्पादन त्यति नै बिक्री

पदमराज भट्ट १० साउन २०८० २०:१४
122
SHARES
बाख्रापालन : जति उत्पादन त्यति नै बिक्री भीमदत्त नगरपालिका-४ गोबरियामा सञ्चालनमा रहेको  चन्दाज गट एन्ड एग्रिकल्चर फार्ममा पालिएका बाख्रा।

धनगढी- गणेश चन्दले पाँच वर्षअघि अस्ट्रेलियाबाट २६ बाख्रा आयात गरे। एउटा फार्म स्थापना गरे। त्यसको नाम राखे चन्दाज गट एन्ड एग्रिकल्चर फार्म। फार्ममा चितवनबाट थप ३० बाख्रा थप गरे। उनी अचेल कञ्चनपुरको भीमदत्त नगरपालिका-४ गोबरियामा सञ्चालनमा रहेको फार्ममा व्यस्त छन्। फार्ममा ९० खसीबाख्रा छन्।

फार्मका खसी मासुका लागि बिक्री हुन्छ भने बोका विभिन्न पहाडी जिल्लामा बिउका रूपमा बिक्री भइरहेको छ। सञ्चालक चन्द भन्छन्, ‘खसीबाख्रा पालन गर्दा बजारको समस्या भोग्नु परेको छैन।’

दर्जनौँ बाख्राको हुलमा भेटिन्छन् मोहन्याल गाउँपालिका ०५ पन्डौनका हरीश बोहरा। बिहानदेखि बेलुकीसम्म वनजंगल र डाँडाकाँडामा बाख्रा चराउँदै बिताउने गरेको उनी बताउँछन्। उनको फार्ममा २० खसी, ३ बोका र १० बाख्रा छन्।

उनी आफू मात्रै बाख्रा पाल्दैनन्। गाउँमा अरूले पालेका खसीबोका तथा बाख्रा पनि खरिद गर्छन्। त्यसलाई बजारसम्म लैजान्छन्। मोहन्याल क्षेत्रमा उनीजस्ता धेरै किसानले पुश पालनलाई आयआर्जनको स्रोत बनाएका छन्। व्यावसायिक रूपमा बाख्रापालन गर्नेको संख्या पनि बढ्दै गएको छ।

‘यहाँका स्थानीयको मुख्य पेसा पशुपालन हो। त्यसमा पनि छोटो समयमा मनग्य आम्दानी हुने भए पनि धेरैले बाख्रा पाल्ने गरेका छन्,’ बोहोराले भने, ‘धेरैले बाख्रा फार्म खोलेका छन्। दुई ⁄चार वटा बाख्रा नपाल्ने त कुनै घर छैनन्।’

कैलालीका पहाडी क्षेत्र मोहन्यालसँगै चुरे गाउँपालिकामा पशुपालनको राम्रो सम्भावना छ। पहाडी क्षेत्र भएकाले चरनको समस्या छैन। वनजंगल पर्याप्त छ। पशुपालनमा लागेका स्थानीय गाउँघरमै रमाइरहेका देखिन्छन्। ‘नेपालमा काम छैन भन्नेहरू भारतका गल्लीमा भौँतारिरहेका छन्। उनीहरू गाउँ फर्किए हुने नि!’ चुरे गाउँपालिका-१ किम्तोलाका गणेश बमले भने।

कैलाली-कञ्चनपुरका पहाडी मात्रै हैन तराई क्षेत्रमा पनि बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। कम लगानीमा बढी आम्दानी हुन थालेपछि किसानको आकर्षण बढेको हो। विदेशमा बसेर फर्किएकाहरूको रोजाइ पनि बाख्रापालनतर्फ नै छ।

‘लामो समय विदेश बसेर फर्किएकाहरू पनि बाख्रापालनमा रमाइरहेका छन्,’ कञ्चनपुर पुनर्वासका वीरबहादुर कोइरालाले भने, ‘म पनि ८ वर्ष कतार बसेर आएको हुँ। त्यहाँ त पैसा बचाउनै सकिनँ। अहिले बाख्रापालन गरिरहेको छु। वर्षमा डेढ लाखभन्दा बढी फाइदा हुन्छ।’

भारतको मजदुरी छोडेर व्यावसायिक बाख्रापालनतर्फ लाग्ने पनि धेरै छन्। तीमध्येका एक हुन् महाकाली नगरपालिका-१ श्रीबगरका मनोजबहादुर बम। तीन वर्षदेखि व्यवसाय सुरु गरेका उनले यस वर्षबाट बिक्री गर्न थालेका छन्। गत वर्ष ५ खसीबोका बिक्री गरेका उनले यस वर्ष ११ वटा खसी बेचेका छन्।

‘दसैँतिहारमा खसीबोकाको बढी मूल्य पाइन्छ। यस वर्ष दसैँतिहारसम्म २२ वटा जति बिक्री हुने गरी पाठापाठी तयार हुँदैछन्। कुनै रोगले नछोए यो वर्ष तीन लाख आम्दानी हुने सम्भावना छ,’ बमले भने।  पहाडी क्षेत्रमा चरन क्षेत्र घट्दै गए पनि बाख्रापालन पेसाबाट आम्दानी राम्रो हुन थालेपछि किसानले व्यावसायिक रूपमा यो पेसालाई अगाडि बढाइरहेका छन्।

१० वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका नौगाड गाउँपालिका-१ इयरकोटका पदम खत्रीले आधुनिक खोर निर्माण गरी ६१ बाख्रा राखी व्यवसाय अगाडि बढाएका छन्। गाउँमै बाख्रा बिक्री गरी वार्षिक रूपमा दुई लाख आम्दानी गरिरहेका उनले बाख्रापालन व्यवसायबाट छोराछोरीलाई धनगढीमा उच्चशिक्षा पढाइरहेका छन्।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराई जिल्लामा बाख्रा पालन भइरहको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी पुष्करराज नाथले बताए। उनले भने, ‘बाख्रापालनसँगै प्रदेशका हिमाली जिल्लामा भेडा तथा च्यांग्रापालन हुने गरेको छ।’

चाडपर्व तथा दसैँतिहारको समयमा प्रदेशबाट खसी, बोका, बाख्रा तथा भेडाच्यांग्रा बाहिर जाने गरेको सूचना अधिकारी नाथले बताए।  सुदूरपश्चिम प्रदेशका किसान बजारको चिन्ताबाट पनि मुक्त छन्। दसैँतिहारका बेला माग धान्नै हम्मेहम्मे पर्छ यहाँका किसानलाई।

प्रदेशमा होटेल-रेस्टुरेन्टको संख्या बढेसँगै उत्पादित मासु बिक्री गर्न समस्या नभएको किसानहरू बताउँछन्। ‘मागअनुसार अझै उत्पादन गर्न सकिएको छैन,’ डोटीको दिपालय सिलगढीका प्रभात बोगटीले भने, ‘दैनिक सयौँको संख्यामा खसीबोका काटिन्छन्। त्यसको अनुपातमा हामीले उत्पादन गर्न सकिरहेका छैनौँ।’

दसैँतिहारमा त खसीबोकाको माग धान्नै मुस्किल हुने चुरे ५ खाँनीडाँडाका बाख्रा व्यवसायी वीरबहादुर नेपाली बताउँछन्। उनी भन्छन्, ‘खसीबोकाको व्यापार सिजनमा हुन्छ। तरकारी बेचेजस्तो दैनिक रूपमा हुँदैन। हुर्काउन-बढाउन हामीलाई समय लाग्छ।’ यहाँबाट ट्रकका ट्रक खसीबोका काठमाडौँसमेत पठाइने भएकाले बजारको समस्या नरहेको उनले बताए। बाख्राका लागि आवश्यक पर्ने औषधि बजारमा नपाइने र बाख्रा बिक्रीका लागि छुट्टै हाटबजार नभएको गुनासो चन्दको छ।

प्रोत्साहनले ऊर्जा दिँदै

पशुपालनमा भविष्य खोजिरहेका किसानलाई सरकारी क्षेत्रबाट पनि राम्रो प्रोत्साहन मिलेको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलले किसानको सहजीकरणका लागि दक्षता अभिवृद्धिका लागि तालिमसँगै प्राविधिक सहयोगसमेत गरिरहेको छ। निर्देशनालय मातहतका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरुले किसानका बाख्रा बिरामी पर्दा सेवा प्रदान गरिरहेका छन्।

कैलालीको बुढीतोलामा रहेको बाख्रा आनुवंशिक स्रोत केन्द्रले उन्नत जातका बाख्राका पाठाका लागि बोका बिक्री गर्ने गरिएको निमित्त कार्यालय प्रमुख कालीप्रसाद जोशीले बताए। उनले भने, ‘अहिले खरी (स्थानीय जात) र बोयर जातको बाख्राका पालन गरेका छौँ। सोही जातकै बोका पनि छन्।’

उत्पादन बढ्दै

सुदूरपश्चिममा खसीबोका उत्पादन वृद्धि हुँदै गएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलको तथ्या.कअनुसार आर्थिक वर्ष ०७४ ⁄०७५ मा खसीबोकाको मासु ३७८१.५८ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष ०७९⁄८० मा यो संख्या बढेर ५२३९.२३ मेट्रिक टन पुगेको छ।

२०७४ पछि क्रमशः उत्पादन बढ्दै गएको छ। आर्थिक वर्ष ०७५ ⁄०७६ मा ४२४५.४२ आ.व.०७६ ⁄०७७ मा ४४०२.६७ आ.व. ०७७⁄०७८ मा ४४५१.१९ मेट्रिक टन र ०७८⁄०७९ मा ५२१८.४८ मेट्रिक टन मासु उत्पादन भएको निर्देशनालयको तथ्यांकले देखाएको छ।

प्रकाशित: १० साउन २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast