‘यातायात क्षेत्र सुधार्न यात्रुलाई मिठो बोली र सफा खाना खुवाउनुपर्छ’

हिमाल प्रेस ३ जेठ २०८३ ६:५२ | Sunday, May 17, 2026
2
SHARE
‘यातायात क्षेत्र सुधार्न यात्रुलाई मिठो बोली र सफा खाना खुवाउनुपर्छ’

काठमाडौँ- यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि यात्रुलाई मिठो बोली र सफा खाना खुवाउनुपर्ने बताएका छन्। नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको सम्मानमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले बानी र व्यवहारले नेपालको सार्वजनिक क्षेत्र सुधार हुने बताएका हुन्।

कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले आफ्नो चारवर्षे कार्यकालमा नेपालको सार्वजनिक क्षेत्रमा धेरै सुधारका कामहरू भएको बताए । “गोदावरी महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चुनिएपछि मैले महासङ्घलाई उचाइमा पुर्‍याउन सबैको साथ माया पाएँ,” उनले भने।

उनले अबको यातायात क्षेत्र ‘मीठो बोली’ र ‘मीठो खाना’मा केन्द्रित हुनुपर्ने बताए। “हामीले करोडौँको लगानी गरेका छौँ, एउटा गाडी किन्दा डेढ करोडसम्म पर्छ, तर, अझै पनि हामीलाई ‘गाडीवाला’का रूपमा मात्र हेरिन्छ, अब हामी साँचो अर्थमा व्यवसायी बन्नुपर्छ,” उनले भने।

महासङ्घका नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद ९सरोज० सिटौलाले आफ्नो नेतृत्वले देशको समग्र यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन कुनै कसुर बाँकी नराख्ने बताए। उनले दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री यातायातका लागि सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गरे । अध्यक्ष सिटौलाले नेपालको यातायात क्षेत्र अब आधुनिक युगमा प्रवेश गरिसकेको बताए।

अध्यक्ष सिटौलाले १३ खर्ब लगानी र पाँच लाखभन्दा बढीलाई रोजगारी प्रदान गरेको सार्वजनिक यातायातलाई अगाडि बढाउन आफू दृढताका साथ लाग्ने उल्लेख गरे।

महासङ्घका वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेल, महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष राजेन्द्र आचार्यलगायतले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित, आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले यातायात क्षेत्रमा रहेका पुराना प्रवृत्तिलाई त्यागेर २१औँ शताब्दी सुहाउँदो सेवा प्रवाह गर्नुपर्ने बताएका थिए।

नेपाल माइक्रो तथा बस कम्पनी प्रालिका सञ्चालक नवराज आचार्यले धराशयी बन्दै गएको नेपालको सार्वजनिक यातायालाई अगाडि बढाउन नवनिर्वाचित कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सोही अवसरमा महासङ्घका निवर्तमान अध्यक्ष स्वाँर र नवनिर्वाचित अध्यक्ष सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast