फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार र योगदान दीपस्तम्झैं रहेको बताएका छन् । ३३ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेताहरूको योगदानको स्मरण गर्दै उनले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको बताएका छन्।
‘आज मदन–आश्रितको ३३औं स्मृति दिवस। ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं। घाउहरू पुराना भएपनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्,’ उनले भनेका छन्।
मदन भण्डारी आफ्नो नेता, साथी, सहयोद्धा सबै रहेको ओलीको भनाइ छ।जीवराज आश्रित कुशल संगठक भएको उनले स्मरण गरेका छन्। ‘मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। त्यस दौरानमा उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ। जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पु¥याउने मार्गचित्र दियो। त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं। पछिल्लो दशकमा हाम्रो त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको थियो,’ उनले भनेका छन्।
मदन भण्डारी–जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज आफूहरूमाझ शारीरिक रूपमा नभए पनि विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैं भएको उनको बुझाइ छ।
‘जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ । जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ। प्रिय मदन–आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान!,’ उनले भनेका छन्।
तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगा दुर्घटनामा निधन भएको थियो। एमालेले त्यसलाई हत्या भन्दै आएको छ । विगतमा विभिन्न आयोग बनेर छानबिन, अध्ययन, अनुसन्धान भएपनि सत्यतथ्य बाहिर आएको छैन।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्। उनले मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्नु पर्ने बताएकी छन्।
उनले जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता तथा प्रखर राष्ट्रवादी जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा दुवै नेताहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भनेकी छन्, ‘मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो।’
उनले जननेता भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद ९जबज०’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको बताइन्।
‘विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ,’ उनले भनिन्, ‘अहिले देखिएका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण शर्त सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छ।’ उनले जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बीचको सम्बन्ध थप मजबुत बनाउन आवश्यक भएको बताएकी छन्। उनले सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गरिनु पर्ने बताएकी छन्।




