 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयको कुलपति राष्ट्रप्रमुख हुने नीति बनाउन सरकारसँग माग गरेको छ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३३ बुदेँ ज्ञापन पत्र बुझाउदै नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहितको टोलिले यस्तो माग गरेको हो।
नेविसंघले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्ति, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न पर्याप्त बजेट विनियोजन गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
नेविसंघले ज्ञापनपत्रमा संघिय शिक्षा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने, मुलुकमा व्याप्त सबै भष्ट्रचारको अन्त्य गर्न र भष्ट्रचारीलाई कानुनी दायरामा ल्याउन २०३६ साल पछिका सबै उच्च पदस्थ र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेको छ।
नेविसंघले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धान सँग जोडिएको देखिएन त्यसैले विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने, अनुसन्धान, अन्वेषण, आविष्कार र परिक्षणको लागि सातै प्रदेशमा अनुसन्धान तथा आविष्कार केन्द्रको स्थापना गर्नुपर्ने विषय ज्ञापनपत्रमा उल्लेख गरेको छ।
नेविसंघले सरकारसँग शिक्षा क्षेत्रमा हुने अस्वस्थ राजनीतिकरण र भागवण्डाको अन्त्य गर्दै सबै विश्वविद्यालयको पदाधिकारीहरू तथा क्याम्पस प्रमुख योग्यता, क्षमता, दक्षता र स्पष्ट कार्ययोजनाको आधारमा नियुक्ति गर्नुपर्ने, युवा विद्यार्थी एवम् साना व्यवसायीहरूले नवप्रवद्धनमा आधरित व्यवसाय स्थापना गर्न चाहेका स्टार्ट अपको दर्ता प्रक्रिया सहज र सरल बनाउन माग गरेको छ। स्टार्ट अप सुरु गर्नको लागि आवश्यक युवा विद्यार्थीहरूलाई लगानीमा पहुँच र सहयोग, कर छुट, बौद्धिक सम्पती र नविन योजनाको संरक्षण गर्नुपर्ने लगायतका विषय ज्ञापनपत्रमा उल्लेख छन्।
 
  
  
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 