परीक्षा व्यवस्थापनमा लापरवाही भएको भन्दै नेविसंघको ध्यानाकर्षण

हिमाल प्रेस १७ वैशाख २०८३ १५:१८ | Thursday, April 30, 2026
16
SHARES
परीक्षा व्यवस्थापनमा लापरवाही भएको भन्दै नेविसंघको ध्यानाकर्षण

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रिय परीक्षा बोर्ड (कक्षा ११/१२) द्वारा सञ्चालन भइरहेको परीक्षामा गम्भीर लापरवाही भएको भन्दै ध्यानाकर्षण गराएको छ।

नेविसंघले परीक्षा केन्द्रहरूमा देखिएका अनियमितता, व्यवस्थापकीय कमजोरी र गैरजिम्मेवार व्यवहारप्रति आपत्ति जनाउँदै तत्काल सुधार र दोषीमाथि कारबाहीको माग गरेको हो।

नेविसंघका अनुसार चितवनस्थित इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षाका क्रममा प्रश्नपत्र ढिलाइका कारण परीक्षा निर्धारित समयभन्दा ढिलो गरी बिहान ८:३१ बजे सुरु गरिएको थियो। तर परीक्षा पूरा हुनुपर्ने समय नपुग्दै बिहान ११:१३ बजे नै उत्तरपुस्तिका संकलन गरिएको आरोप लगाइएको छ।

यसरी करिब १७ मिनेट समय घटाइँदा विद्यार्थीको मौलिक शैक्षिक अधिकारमा गम्भीर असर परेको नेविसंघको दाबी छ। यस्ता समस्या चितवनमा मात्र नभई भैरहवा, काठमाडौँको बालकुमारी कन्या कलेज, नुवाकोट लगायतका विभिन्न परीक्षा केन्द्रहरूमा समेत देखिएको भन्दै नेविसंघले परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको जनाएको छ।

संगठनले राष्ट्रिय परीक्षा बोर्डलाई सम्बन्धित परीक्षा केन्द्रमा भएको लापरवाहीको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, प्रभावित विद्यार्थीलाई न्यायोचित निर्णय दिन, तथा परीक्षा व्यवस्थापन प्रणाली सुधारका लागि कार्यविधि र प्रभावकारी अनुगमन व्यवस्था लागू गर्न माग गरेको छ।

परीक्षा केन्द्रहरूमा देखिएका कमजोरी पहिचान गरी सुधारात्मक कदम चाल्नुपर्ने र विद्यार्थीलाई निष्पक्ष तथा भयमुक्त वातावरणमा परीक्षा दिन सुनिश्चित गर्नुपर्ने पनि नेविसंघको आग्रह छ।

नेविसंघले यस्ता घटना दोहोरिएमा सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १५:१८ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast