काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सुनसरीको देवानगन्ज र सिरहाको गोलबजारमा भएको घटनाका क्रममा सुरक्षा निकायको गोली प्रहारबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारलाई बल प्रयोगको सट्टा संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।
नेविसंघ अध्यक्ष करुणा कुँवरद्वारा जारी विज्ञप्तिमा सुनसरीको देवानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिरहाका गणेश यादवलगायत घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै बारम्बार अत्यधिक बल प्रयोगले समस्या समाधान नहुने, बरु समाजमा थप तनाव र अविश्वास बढ्ने विज्ञप्तिमा बताइएको छ। नेविसंघले वर्तमान संवेदनशील परिस्थितिमा प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनाप्रति थप जिम्मेवार, संवेदनशील र सक्रिय बन्न आग्रह गरेको छ।
राज्यले दमनको बाटो तत्काल त्यागेर सबै पक्षसँग गम्भीर संवादमा जुट्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयम अपनाउन अपिल गरेको छ।
नेविसंघले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई नेपाली समाजको साझा पहिचान भएको उल्लेख गर्दै भ्रम, अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै सरोकारवालासँग आग्रह गरेको छ।
नागरिकलाई शान्ति, सद्भाव र जिम्मेवार भूमिकामा उभिन आह्वान गर्दै संवाद र सहमतिमार्फत नै वर्तमान समस्याको दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त गरेको छ।


