काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी नवलपरासीको गैंडाकोट (मौलाकाली जोड्ने १२ सय मिटरको) मौलाकाली केबलकारको उद्घाटन गरेका छन्।
प्रसिद्ध धार्मिकस्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी निर्माण गरिएको केबलकारको प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार उद्घाटन गरेका हुन्।
केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको बताए।
केबलकार आईएमई ग्रुप अन्तर्गतको मौलाकाली केबलकार प्रालिले सञ्चालनमा ल्याएको हो। गैंडाकोट-१ देखि माथि मौलाकाली मन्दिरसम्म एकतर्फी १२ सय मिटर (१.२ किलोमिटर) रहेको केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा गोन्डोला (डब्बा)रहेका छन्।
१२ सय मिटरको दूरीमा रहेको केबलकारमा ६ वटा स्टेसन टावर राखिएको छ। खासगरी धार्मिक पर्यटक तीर्थयात्रीहरूकै सुविधाका लागि भनेर केबलकार बनाइएपनि मौलाकाली केबलकार प्रालिले यसलाई मल्टी व्यवसायको रूपमा विकास गर्नेगरि अघि बढेको छ।
केबलकारको बेस स्टेसनमा सामान्य होटलसहित टप स्टेसनमा सुविधासम्पन्न तीन तारे होटल निर्माण गर्दैछ। सो होटल निर्माण कार्य अहिले जारी रहेको मौलाकाली केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। तस्बिर : प्रधानमन्त्रीको सचिवालय