काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन्।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन्। विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध बनाएको उनको भनाई छ। दाहालले विपद्को प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरूलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढङ्गले अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाबीसमेत गरे।
विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी ‘हामी आफैं गर्छौं’ भन्ने अहंकार प्रदर्शन गरेको उनको आरोप छ। उनले १० दिनपछि र ११ दिनपछि समेत मानिसहरू जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरै मानिसलाई बचाउन सकिने अवस्था रहेको पुष्टि गर्ने बताए। सरकारले विपद्का बेला नागरिकसँग गरिरहेको व्यवहारसमेत अहंकारपूर्ण र मनोगत देखिएको दाहालको टिप्पणी छ।
यस्तो कार्यशैलीले सरकारले गम्भीर विषयलाई प्रभावकारी ढङ्गले सम्हाल्न नसकेको देखिएको बताउँदै दाहालले विपद्का कारण हजारौं मानिस बेपत्ता भएको र ठूलो जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनामा मधेसका जनतालाई सहयोग गर्न अपिलसमेत गरे। पहाडमा पीडा हुँदा मधेस र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने परम्परा नेपालमा विकसित हुँदै गएको उल्लेख गर्दै उनले अहिलेको विपद्मा पनि राष्ट्रिय एकताको भावना प्रदर्शन गर्नुपर्नेमा जोड दिए।
जनस्तरबाट हुने सहयोगले राहत र पुनःस्थापनामा मात्रै नभई राष्ट्रिय एकता तथा पीडितको मनोवैज्ञानिक पुनस्र्थापनामा समेत महत्वपूर्ण भुमिका खेल्ने दाहालको भनाइ छ। प्रदेश सरकार तथा आम नागरिकले पनि यसतर्फ ध्यान दिनुपर्ने उनले बताए। दाहालले विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्ने विषयलाई समेत जोड दिए।
नेपालले लामो समयदेखि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र ‘क्लाइमेट जस्टिस’को विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरण गराउँदै उनले विकसित तथा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्ने बताए।
हिमपहिरो, हिमताल विस्फोट तथा त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने बाढी र पहिरो कुनै एक देशको मात्रै समस्या नभएको भन्दै दाहालले यसलाई विश्व मानव समुदायसमक्ष देखिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताए।


