गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो : अर्थमन्त्री डा. महत

हिमाल प्रेस ६ वैशाख २०८० १६:२८ | Wednesday, April 19, 2023
गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो : अर्थमन्त्री डा. महत डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। ऊर्जा सम्मेलनको समापन समारोहमा बुधबार उनले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानको प्रशंसा गरेका हुन्।

उक्त सम्मेलन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरेका थिए। सम्मेलनमा डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावाट विद्युत उत्पादन हुन्थ्यो,’ उनले भने, ‘जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रसारणमा विद्युत थपियो। जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण छ।’

ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका उनको भनाइ थियो। निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको नभई विदेशमा विद्युत निर्यात गर्न थालेको पनि उनले बताए। उनले ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि आग्रह गरे। लगानीकर्तालाई सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई राखेको उनले बताए। ‘सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने छ। विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो,’ उनले भने, ‘बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ। विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरू समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन्।’

प्रकाशित: ६ वैशाख २०८० १६:२८ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast