सीएलईले बीएचएम पढ्न दुई सय जनालाई छात्रवृत्ति उपलब्ध गराउने

हिमाल प्रेस ५ वैशाख २०८० १७:१३ | Tuesday, April 18, 2023
सीएलईले बीएचएम पढ्न दुई सय जनालाई छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौँ- स्नातक तहमा हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) अध्ययन गर्न चाहने दुई सय जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने भएका छन्। एकेडेमी अफ कलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट र सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेन्योरसिप (सीएलई)ले गरीब तथा जेहन्दार एंव सीमान्तकृत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने भएको हो।

कक्षा १२ को परीक्षा दिने सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययन गरेका गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुलिनरी आर्ट्सका संस्थापक अशेष महर्जनले जानकारी दिए।

छात्रवृत्ति कार्यक्रम नेपालका ७७ जिल्लाका प्रत्येक एक छात्र र एक छात्रा, अन्य सार्क राष्ट्रहरूबाट एक छात्र र एक छात्रा, १२ जना अपांगता भएका विद्यार्थी, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट १० जना विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। त्यस्तै आतिथ्य उद्योगमा उच्च शिक्षा हासिल गर्ने आकांक्षा भएका नेपालमा बसोबास गर्ने १० शरणार्थीहरू गरी दुई सय जना योग्य विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कलेजले जानकारी दिएको छ।

छात्रवृत्ति कार्यक्रमका लागि रकम जुटाउन विभिन्न कोष एजेन्सी र संस्थाहरूसँग सहकार्य गर्ने, छात्रवृति कोषमार्फत शिक्षण शुल्क, १८ महिनाको आवास, र शिक्षासम्बन्धी अन्य खर्चहरू समावेश गरिने लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले जानकारी दिए। ‘छात्रवृत्ति कार्यक्रम होटल व्यवस्थापन शिक्षातर्फ समान पहुँच प्रवर्द्धन गर्न र विपन्न विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक वृत्तिविकास गराउने उद्देश्यले प्रदान गर्न लागिएको हो। पर्यटन प्रवर्द्धनमा पनि यसले सहयोग पुग्ने विश्वास छ,’ उनले भने।

छात्रवृत्तिका लागि जेठ १९ गतेबाट आवेदन खुला गरिने र भदौ मसान्तमा बन्द हुनेछ। त्यसका लागि सीएलई र लीड नेपाल इन्क (एलएनई)बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

प्रकाशित: ५ वैशाख २०८० १७:१३ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast