काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि २६ हजार बढीले दिए आवेदन

हिमाल प्रेस ११ जेठ २०८३ २१:१३ | Monday, May 25, 2026
10
SHARES
काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि २६ हजार बढीले दिए आवेदन

काठमाडौँ- काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ विद्यार्थीले अनलाई आवेदन दिएका छन्।

आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेका छन्।

आवेदकमध्ये २३ हजार ४९९ जनाका आवेदन स्वीकृत भइसकेको महानगरपालिका कार्यालयका शिक्षा अधिकृत एवं परीक्षा समिति सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनुपर्ने देखिएकाले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ। उनीहरूले मंगलबार मध्याह्न १२ बजेसम्म विवरण सच्चाएर पुनः पेस गर्नुपर्ने खड्काले बताए।

प्रणालीमार्फ आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरूलाई सहजीकरण गर्न महानगरपालिका कार्यालयस्थित विभागमा सहायता कक्ष स्थापना गरिएको छ।

सबै ठाउँमा एउटै र अनावश्यक कागजात राखेका ८४ जनाको आवेदन अस्वीकृत भएको परीक्षा समितिले जनाएको छ। खड्काका अनुसार तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नुपर्ने विवरण वा कागजात अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ। उनले जेठ १३ गतेसम्म फारम स्वीकृत गर्ने प्रक्रिया चल्ने बताए।

आवेदन फारम स्वीकृत भएका आवेदकले जेठ १४ गते बिहान १० बजेपछि फारम भरेकै साइटमा गएर प्रवेशपत्र डाउनलोड गर्न र प्रिन्ट गर्न सक्नेछन्। त्यस्तै परीक्षा केन्द्र र परीक्षासम्बन्धी जानकारी प्रवेशपत्रबाटै प्राप्त हुनेछ।

परीक्षासमितिले जनाएअनुसार आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फारम भरेका छन्। विज्ञान विषयका लागि फारम भर्नेको संख्या १८ हजार ९९६ रहेका छन्। त्यस्तै व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जनाले फारम भरेका छन्।

कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा सिफारिस गर्ने गरेको छ। परीक्षापछि योग्यताक्रमको सूची प्रकाशन हुनेछ। त्यसपछि म्याचिङ लिस्टबाट नाम सिफारिस भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै प्रकारको शैक्षिक शुल्क तिर्न नपर्ने महानगरले जनाएको छ।

प्रकाशित: ११ जेठ २०८३ २१:१३ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast