पाकिस्तान दूतावासद्वारा नेपालका दुई सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

हिमाल प्रेस ४ असार २०८३ २०:०१ | Thursday, June 18, 2026
2
SHARE
पाकिस्तान दूतावासद्वारा नेपालका दुई सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तान दूतावासले नेपालका दुई सयभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

दूतावासले ‘१४ औँ वार्षिक अम्बेस्डर अफ पाकिस्तान स्कलरसिप’ समारोहमा ती विद्यार्थीहरुलाई सम्मानित गरेको हो।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच.हाश्मीको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा देशभरका उच्च माध्यमिक विद्यालयका योग्य विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरिएको थियो।

दूतावासका अनुसार सम्बन्धित विद्यालयहरुको सिफारिसमा मेधावी क्षमता र आर्थिक आवश्यकताका आधारमा विद्यार्थीहरु छनोट गरिएको हो।

यसैगरी पाकिस्तानका संस्थापक कायदा–ए–आजम मोहम्मद अली जिन्नाको १५० औँ जन्मजयन्तीको अवसरमा यस वर्ष विशेष सम्मानको समेत व्यवस्था गरिएको थियो। जसअन्तर्गत छात्रवृत्ति प्राप्त गर्नेहरुमध्ये सर्वोत्कृष्ट घोषित भएकी त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (पोखरा क्याम्पस) की छात्रा प्राप्ति लम्साललाई एउटा ल्यापटक प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले नेपालको शिक्षा क्षेत्रको विकासका लागि पाकिस्तान सधैँ प्रतिबद्ध रहेको बताए।

उनले युवा विद्यार्थीहरुलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित, स्वास्थ्य, जैव विज्ञानलगायतका विधामा आफ्नो सीप तिखार्न आग्रह गरे।

सन् २०१३ मा स्थापना गरिएको ‘अम्बेस्डर अफ पाकिस्तान स्कलरसिप’ कार्यक्रम हाल नेपालमा सञ्चालित वैदेशिक छात्रवृत्ति पहलहरुमध्ये एक प्रतिष्ठित कार्यक्रम रहेको दूतावासले जनाएको छ।

प्रकाशित: ४ असार २०८३ २०:०१ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast