निजी विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीको नाम अभिभावकले देखिने गरी सार्वजनिक गर्नुपर्ने

हिमाल प्रेस २ वैशाख २०८३ ७:५९ | Wednesday, April 15, 2026
22
SHARES
निजी विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीको नाम अभिभावकले देखिने गरी सार्वजनिक गर्नुपर्ने

काठमाडौँ- निजी विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीको नाम अभिभावकले देखिने गरी सार्वजनिक गर्नुपर्ने भएको छ । छात्रवृत्ति वितरण प्रणालीलाई पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो पहल गरेको हो ।

निजी तथा संस्थागत विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिमा छनोट भएका विद्यार्थीको नाम सार्वजनिक गर्न मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर यस कार्यमा सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरेर छात्रवृत्तिलाई पारदर्शी बनाउने कार्यमा समन्वय गरिदिन पनि शिक्षा मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण अभिभावकले देख्ने गरी शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इएमआइएस) मा तत्काल अद्यावधिक गर्ने तथा त्यस्ता विद्यार्थीको विवरण अभिभावकले देख्ने सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

साथै छात्रवृत्तिको विवरण अद्यावधिक गरे वा नगरेको अनुगमन गरी छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कारबाही गर्न सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को दफा २७ मा निजी लगानीका विद्यालय तथा तथा सार्वजनिक शैक्षिक गुठी अन्तर्गत रहेका विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा तोकिएबमोजिम निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने भन्ने व्यवस्था छ ।

शिक्षा नियमावली, २०५९ को नियम १५१ मा संस्थागत विद्यालयले कुल भर्ना भएका विद्यार्थी संख्याको १० प्रतिशतमा नघटाई गरिब, अपाङ्गता भएका, महिला, दलित र जनजाति विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । पछिल्लो समय छात्रवृत्ति कोटा दुरुपयोग भएको भन्ने व्यापक गुनासो छ । अभिभावक तथा विद्यार्थीबाट आउने यही गुनासोलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले अगुवाइ गरेको हो ।

प्रकाशित: २ वैशाख २०८३ ७:५९ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast