काठमाडौँ- नेपाल सरकारले मोरोक्कोमा पाँच जना नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको अवसर प्राप्त भएको जनाएको छ। परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पत्रअनुसार नेपाली राजदूतावास, नयाँ दिल्लीबाट आएको सिफारिसका आधारमा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले आवेदन आह्वान गरेको हो।
मन्त्रालयका अनुसार छात्रवृत्ति सम्बन्धी नियमावली २०६० को नियम १० (क) र नियम ११ बमोजिम खुला तथा महिलाका लागि आरक्षित सिटमा योग्य उम्मेदवार छनोट गरिनेछ।
आवेदन दिन इच्छुक विद्यार्थीहरूले स्नातक तहका लागि कक्षा १२ उत्तीर्ण गरेको र स्नातकोत्तर तहका लागि सम्बन्धित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट लिइएको प्रवेश परीक्षाको प्रवेश परीक्षा नतिजा वा स्कोर कार्ड अनिवार्य गरिएको छ।
मन्त्रालयले आवेदन अनलाइनमार्फत Google Form प्रयोग गरी दिनुपर्ने जनाएको छ। आवेदन दिने अवधि मिति २०८३/०२/२२ देखि २०८३/०२/२८ (५ जुन २०२६ देखि ११ जुन २०२६) कार्यालय समयभित्र तोकिएको छ।
आवेदनका लागि आवश्यक गुगल लिंक https://forms.gle/2Smru2sscVpzTSWA उपलब्ध गराइएको छ।
थप जानकारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, छात्रवृत्ति शाखा, सानोठिमी भक्तपुरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
मन्त्रालयले योग्य विद्यार्थीहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ।




