शिक्षक महासंघको सरकारसमक्ष ७ बुँदे माग, सहमति कार्यान्वयन नभए निर्णायक आन्दोलन गर्ने चेतावनी

हिमाल प्रेस १३ मंसिर २०८३ १६:५२ | Sunday, November 29, 2026
4
SHARES
शिक्षक महासंघको सरकारसमक्ष ७ बुँदे माग, सहमति कार्यान्वयन नभए निर्णायक आन्दोलन गर्ने चेतावनी शिक्षक महासंघका अध्यक्ष सुन्दर पन्त

काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै शिक्षा क्षेत्रका विभिन्न समस्या समाधानका लागि ७ बुँदे माग सार्वजनिक गरेको छ। महासंघले सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

महासंघका अनुसार विगतमा सरकार र महासंघबीच भएका सहमति कार्यान्वयन भए शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान हुने, सार्वजनिक शिक्षाको गुणस्तर सुधार हुने र शिक्षा क्षेत्रमा नयाँ उत्साह पैदा हुने अपेक्षा गरिएको थियो। तर, सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको भन्दै शिक्षक तथा कर्मचारीमा असन्तुष्टि बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ।

महासंघले शिक्षक आन्दोलनपछि भएका वार्ता तथा सहमतिमा शिक्षक-कर्मचारीका पक्षमा भएका विषय कार्यान्वयन हुन नसकेको आरोप लगाएको छ। राज्यले जिम्मेवारी पूरा नगर्दा शिक्षक-कर्मचारीले लामो समयदेखि पीडा भोग्नुपरेको भन्दै महासंघले सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ।

महासंघका ७ माग

शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था 

नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार बिन्दु मानी त्यसअघि स्थायी भएका सबै शिक्षकलाई पुरानो प्रणालीअनुसार निवृत्तिभरण प्रदान गर्ने र नयाँ ऐन जारी भएपछि स्थायी हुने शिक्षक-कर्मचारीका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने व्यवस्था शिक्षा ऐनमा मिलाउन तथा निवृत्तिभरण ऐन संशोधन गर्नुपर्ने।

अस्थायी शिक्षकको निवृत्तिभरण सुविधा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि नयाँ सेवा अवधि मात्र नभई अस्थायी सेवाकालको अवधि जोडेर निवृत्तिभरण दिने व्यवस्था गर्नुपर्ने।

दुर्गम तथा स्थानीय भत्ता

दुर्गम क्षेत्रमा कार्यरत शिक्षकले दुर्गम तथा स्थानीय भत्ता पाउँदै आएको अवस्थामा कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधारमा हटाइएको भत्ता पुनः उपलब्ध गराउनुपर्ने।

विगतका वर्षमा खाइपाई सकेको भत्ता महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाई फिर्ता गर्न लगाइएको रकमसमेत सम्बन्धित शिक्षकलाई फिर्ता गराउनुपर्ने।

विद्यालय कर्मचारी तथा ईसीडीका शिक्षकको व्यवस्था

विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाट तलबभत्ता उपलब्ध गराउनुपर्ने।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने

विद्यालय शिक्षा ऐनका लागि विधेयकको मस्यौदा तयार गरी नेपाल शिक्षक महासंघसँग संस्थागत सहकार्य र संवादमार्फत विधेयक तयार गर्नुपर्ने। विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने।

४८ बुँदे माग सम्बोधन

नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद्बाट पारित भई पेस भएको ४८ सूत्रीय मागलाई अविलम्ब सम्बोधन गर्नुपर्ने।

शिक्षा नियमावली संशोधन

नेपाल शिक्षक महासंघबाट शिक्षा नियमावली (दशौँ संशोधन) को नियम १५७ उपनियम ३ अनुसार मन्त्रालयमा पेस भएको विधानलाई अविलम्ब स्वीकृत गर्नुपर्ने।

प्रकाशित: १३ मंसिर २०८३ १६:५२ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast