काठमाडौँ- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक-एक गोलको बराबरी खेलेका छन्।
सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली सेनाको राजदल गणको खेलमैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन्।
खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए।
बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन्।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफ र कोशी प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलसहित फाइनल खेल जुम्लामा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।



