काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने निर्वाचित जनप्रतिनिधिहरू पदमा रहिरहन नपाउने चेतावनी दिएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले बदलिएको राजनीतिक परिस्थिति र पार्टी अनुशासनका विषयमा तल्लो तहसम्म प्रस्ट सन्देश पुर्याउन आग्रह गरेका हुन् ।
त्यस्तै, विगतमा कांग्रेस फुटेर पछि मिल्दा सहसभापति बन्ने जस्ता घटनाक्रम सधैँ नदोहोरिने उल्लेख गर्दै उनले एमाले विभाजन हुँदा माधव नेपालको वर्तमान अवस्था के छ भनी प्रश्न गरे । सधैँभरि फुटको राजनीति एकै तरिकाले नजाने भन्दै उनले देश, समय र राजनीति बदलिसकेको बताए ।
सभापति थापाले पार्टी अनुशासनको विषयमा आफूले कुनै कमजोर कुरा नगरेको स्पष्ट पार्दै विधान उल्लङ्घन गर्नेमाथि विधानअनुसार नै कारबाही अघि बढ्ने चेतावनी दिए । कांग्रेसबाट निर्वाचित कुनै पनि गाउँपालिका अध्यक्ष वा वडाध्यक्षले पार्टीमा आबद्ध नभएको, अनुशासन नमान्ने, पार्टी कार्यालय नजाने वा सभापति नचिन्ने अभिव्यक्ति दिएमा त्यस्ता व्यक्तिलाई धन्यवाद दिएर बिदा गरिने उनको भनाइ छ ।
‘कांग्रेसबाट निर्वाचित भएर वडाध्यक्ष वा पालिका अध्यक्ष पनि भइराख्छु तर कांग्रेस मान्दिनँ र चिन्दिनँ भन्न पाइँदैन,’ उनले भने, ‘पार्टीको अनुशासन उल्लङ्घन गर्नेमाथि विधानअनुसार पार्टी अगाडि बढ्छ, यसमा कुनै अलमल छैन ।’



