गुरु बराल, मोहनबहादुर बस्नेत, भूपेन्द्रजंग शाही, कुन्दनराज काफ्ले, जितजंग बस्नेत। (एआईको सहयोगमा बनाइएको कोलाज)
काठमाडौँ- मंसिर २१ गते काठमाडौँमा सुरु हुन लागेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा निकट समूहको महाधिवेशनमा महामन्त्रीका आकांक्षीहरू धमाधम खुल्न थालेका छन्। महामन्त्रीमा झन्डै १० जनाले आकांक्षा देखाएका छन्। तीमध्ये केहीले भने औपचारिक रूपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
महामन्त्री पद कतिवटा रहने भन्ने देउवा समूहमा टुंगो लागेको छैन। १४ औँ महाधिवेशनमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था थियो। गगन थापा समूहले १५ औँ महाधिवेशनमा महामन्त्री पदको संख्या बढाएर दुईबाट बढाएर तीन पुर्याएको छ।
पहिले खुला मात्र रहेको सोही पद अहिले दुई खुला र एक महिला बनाएको छ। देउवा समूहले पनि महामन्त्री पदको संख्या बढाउने योजना बनाएको छ। तर कति बढाउने टुंगो नभएको कांग्रेस नेता धर्मराज शाही बताउँछन्। ‘नयाँ विधान बनेको छैन। कतिवटा हुन्छन् टुंगो छैन तर बढ्न चाहिँ बढ्छ’, उनी भन्छन्। महामन्त्रीमा यसअघि केन्द्रीय सदस्य भइसकेका र विद्यार्थी राजनीतिबाट उदाएका नेताहरूले आकांक्षा देखाएका हुन्।
मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने मोहन बस्नेतले महामन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी महामन्त्रीको उम्मेदवार बन्ने बताएका हुन्। ‘म नै महामन्त्री, संकटमा समेत मै थिएँ’, बस्नेतले हिमालप्रेससँग भने, ‘महामन्त्री पदमा सर्वसम्मति हुनु हुँदैन। हामी प्रतिस्पर्धा गर्ने हो। त्यसैले म स्वाभाविक उम्मेदवार हुँ।’
भूपेन्द्रजंग शाही
देउवा समूहको महामन्त्री पदमा चर्चामा रहेका नेता हुन्, भूपेन्द्रजंग शाही। कालीकोटका शाहीसँग नेविसंघको केन्द्रीय उपाध्यक्ष, तरुण दलको महामन्त्रीसम्म बनेको अनुभव छ। ‘म यसपटक महामन्त्री हुने तरिकाले लागेको छु। सबैले सहयोग गर्नुहुने विश्वास छ’, शाहीले हिमालप्रेससँग भने।
कांग्रेसको १४औँ महाधिवेशनमा उनले कर्णाली प्रदेश सभापति पदमा उम्मेदवारी दिएका थिए। ‘ऊर्जाशील नेतृत्व, गतिशील व्यक्तित्व’को नारासहित उनी अहिले जिल्लाजिल्लामा पुगिरहेका छन्।
जितजंग बस्नेत
जितजंग बस्नेत पनि यसपटक महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छन्। राष्ट्रियसभा सदस्य रहेका बस्नेत १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य थिए। लामो समय तरुण दलको अध्यक्ष भएका उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वमहामन्त्री हुन्।
‘म यसपटक महामन्त्री बन्ने हो,’ बस्नेतले हिमालप्रेससँग भने, ‘मैले त्यसमै तयारी गरिरहेको छु।’ सर्वसम्मति गराउने तयारी छ नि भन्ने प्रश्नमा बस्नेतले भने, ‘जितजंग बस्नेतमा सहमति हुन्छ भने मान्छु, नभए चुनाव लडिन्छ।’ देउवाका खम्बा मानिने बस्नेत देउवाका कठिन परिस्थितिमा समेत सँगै रहेका नेता हुन्।
कुन्दनराज काफ्ले
बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्ले पनि यसपटक महामन्त्रीमा लड्ने घोषणा गरेका छन्। कांग्रेसका कृष्णप्रसाद सिटौला निकटस्थ मानिने काफ्लेले महामन्त्री लड्ने बताएका हुन्। उनले सामाजिक सन्जालमा ‘कुन्दन फर महामन्त्री’प्रचारमा छन्।
गुरु बराल
गगनले विशेष महाधिवेशन गरेसँगै देउवाको समूहको पक्षबाट निरन्तर खबरदारी गर्ने नेतामा पर्छन्, गुरु बराल। ‘म यसपटक महामन्त्री लड्ने हो। तयारीमा छु’, उनी भन्छन्। चौधौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। गण्डकीबाट प्रतिनिधित्व गर्ने उनी कास्कीका नेता हुन्। ‘म जिल्लाजिल्ला धाइरहेको छु, संकटका बेला खटिएको सिपाही हुँ अब महामन्त्रीमा लड्छु’, उनले भने।



