एमाले-नेकपासँग सत्ता सहकार्य गर्ने रणनीतिमा कृष्णप्रसाद, रोक्ने दाउमा कांग्रेस

धैर्यकान्त दत्त ११ मंसिर २०८३ १७:०६ | Friday, November 27, 2026
96
SHARES
एमाले-नेकपासँग सत्ता सहकार्य गर्ने रणनीतिमा कृष्णप्रसाद, रोक्ने दाउमा कांग्रेस

काठमाडौँ- मधेश प्रदेशमा सरोजकुमार यादव मुख्यमन्त्री बनेको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। उनी जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश संसदीय दलका नेता हुन्।

संविधानको धारा १६८ (२) बमोजिम कुनै पनि दलले दाबी पेस गर्न नसकेपछि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले धारा १६८ (३) अनुसार जसपा नेपाल संसदीय दलका नेता यादवलाई मंसिर ५ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

एकै कार्यकालमा दोस्रोपटक मुख्यमन्त्री बनेका यादवले प्रदेश प्रमुखबाट नियुक्ति पाएपछि पत्रकारहरूसँग एक साताभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने र चाँडै सर्वदलीय सरकार बनाउने दाबी गरेका थिए। उनले प्रदेशमा सर्वदलीय सरकार बनाउने भनेर पटकपटक दोहोर्‍याउँदै आएका छन्।

मुख्यमन्त्री यादवले भनेझैँ सर्वदलीय सरकार बनाउन प्रदेशसभामा उपस्थित सबै दलको समर्थन आवश्यक हुन्छ। यादव आबद्ध दल जसपा नेपाल आठदलीय ‘अग्रगामी’ मोर्चामा समेत संलग्न छ। मोर्चामा आबद्ध जनमत पार्टीको समर्थन प्राप्त गर्ने आकलन मुख्यमन्त्री यादवको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले भने प्रदेशसभाको निर्वाचनसम्म मधेश प्रदेशमा कुनै पनि सरकारमा सामेल नहुने घोषणा गरेका छन्। हुन त प्रदेशसभा निर्वाचन सम्पन्न नहुँदासम्म प्रदेश सरकारमा सहभागी नहुने निर्णय जसपा नेपाल सहभागी ‘अग्रगामी’ मोर्चाकै छ। तर मोर्चाको निर्णयलाई किनारा लगाउँदै अध्यक्ष उपेन्द्र यादवको सहमतिमै जसपा नेपालले प्रदेश सरकारको नेतृत्व सम्हालेको छ।

नवनियुक्त मुख्यमन्त्री यादव कम्तीमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन प्राप्त गरेर प्रदेशसभामा बहुमत प्राप्त गर्न चाहेका छन्। एमालेले समर्थन गरे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि समर्थन गर्ने बुझाइ उनको रहेको निकट नेताहरू बताउँछन्।

उता वर्तमान सरकारलाई समर्थन दिने कि आफ्नै नेतृत्वमा फेरि सरकार बनाउने विषयमा कांग्रेस विभाजित देखिएको छ। कांग्रेसको एउटा समूह नवनियुक्त मुख्यमन्त्री यादवलाई समर्थन गरेर चुनावसम्म स्थायी सरकारलाई निरन्तरता दिने पक्षमा छ। अर्को समूह भने आफ्नै नेतृत्वमा सरकार गठन गरेर एमाले र नेकपासँग आलापालो सत्ता सहकार्य गर्न खोजिरहेको छ।

कांग्रेसका एक प्रदेश सांसदले निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव जसपा नेपाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत नदिई एमाले र नेकपासँग मिलेर सत्ता सहकार्य गर्न खोजेको दाबी गरे।

‘तीन महिना कांग्रेस, तीन महिना नेकपा र पाँच महिना एमालेलाई सरकारको नेतृत्व दिएर उहाँ सत्ता सहकार्य गर्न चाहेको भनेर हामीले सुनेका छौँ,’ कांग्रेसका ती सांसदले हिमालप्रेससँग भने, ‘हामी यसको पक्षमा छैनौँ। चार वर्षमा ६ वटा मुख्यमन्त्री बनिसके, यो ठीक होइन। जोसुकैको भए पनि चुनावसम्म स्थायी सरकार हुनुपर्छ भन्ने हाम्रो भनाइ छ।’

पटकपटक सरकार गिराउने र बनाउने खेलमा लाग्दा संघीयता र प्रदेश सरकारकै सम्बन्धमा आमनागरिकबीच वितृष्णा फैलिएकाले आगामी चुनावसम्म स्थायी सरकार बनाउने पक्षमा आफूहरू रहेको उनको भनाइ छ। विगतमा नेताहरू आलोपालो गरी सरकार बनाउने खेलमा लाग्दा जेनजी विद्रोह भएको बताउँदै उनले अब पनि त्यही ढंगले हिँडे मधेश प्रदेशमा आन्दोलन हुने निश्चित रहेको दाबी गरे।

संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पार्टीका अधिकांश सांसदहरू रुष्ट बनेका छन्।उनी एकलौटी ढंगले हिँड्ने गरेको आरोप सांसदहरूको छ। पछिल्लो समय एमालेसँगै मिलेर सरकार गठनका लागि दाबी पेस गर्ने अवधि थप्न प्रदेश प्रमुखसमक्ष पुगेपछि कांग्रेस सांसदहरू कृष्णप्रसादसँग चिढिएका हुन्।

‘जसको कारणले सरकार ढल्यो उसैसँग मिलेर सरकार गठनका लागि समय थप गर्न भनेर प्रदेश प्रमुखलाई आग्रह गर्न पुग्नुभएको छ। एमालेले समर्थन किन फिर्ता लियो र फेरि किन समर्थन गर्ने प्रस्ट पार्नुपर्‍यो कि परेन?’ कांग्रेसका ती सांसद भन्छन्, ‘एमालेसँगै अथवा अरू कोहीसँग मिलेर सरकार बनाउने हो यसबारे दलमा छलफल हुनुपर्‍यो कि हुनु परेन? कुनै छलफल छैन, एकलौटी ढंगले हिँड्नुभएको छ यसरी चल्दैन।’

कांग्रेस स्रोतका अनुसार कांग्रेसका बहुमत सांसदहरूको शुक्रबार गोप्य बैठकसमेत भएको छ। बैठकमा अब आलोपालो नभइ प्रदेशमा स्थायी सरकार बनाउने सन्दर्भमा छलफल भएको बताइएको छ।

कांग्रेसकै एक समूहबाट सहयोग पाउने देखेपछि मुख्यमन्त्री यादवले सर्वदलीय सरकार बनाउने दाबी गरिरहेका छन्। यद्यपि सरकारलाई समर्थन गर्ने वा विपक्षमा बस्ने भन्ने औपचारिक निर्णय कांग्रेसले गरेको छैन।

निवर्तमान मुख्यमन्त्री एवं प्रदेश संसदीय दलका नेता कृष्णप्रसादले सरकारका विषयमा संसदीय दलभित्र हालसम्म औपचारिक छलफल नभएको बताए। उनले सहयोग गर्न भनेर मुख्यमन्त्रीले आफूहरूलाई प्रस्तावसमेत नगरेको जानकारी दिए। ‘सर्वदलीय सरकार बन्छ भनेर उहाँ (मुख्यमन्त्री) ले कसरी भन्नुभयो उहाँलाई नै थाहा होला,’ उनले भने, ‘हामीसँग अहिलेसम्म औपचारिक वा अनौपचारिक कुनै प्रस्ताव आएको छैन।’

जसपा नेपालको सरकारलाई समर्थन गर्ने वा आफ्नै नेतृत्वमा सरकार बनाउनेबारे संसदीय दलमा छलफल गरेर निर्णय हुने उनको भनाइ छ। ‘राजनीतिमा सबै सम्भावना खुला हुन्छ,’ आफ्नै नेतृत्वमा सरकार बनाउनुहुन्छ कि जसपा नेपाललाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा कृष्णप्रसादले भने, ‘संसदीय दलमा छलफल गरेर जे निर्णय हुन्छ त्यही हिसाबले अगाडि बढौँला।’

कांग्रेस केही दिनपछि मधेशमा प्रदेशमा अधिवेशन गर्ने तयारीमा छ। पार्टीको प्रदेश सभापतिसमेत रहका संसदीय दलका नेता कृष्णप्रसाद फेरि सभापतिमा दोहोरिन चाहेका छन्। मुख्यमन्त्री भएर प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्दा आफूलाई सजिलो हुने उनको विश्लेषण छ।

प्रदेशसभा भंग हुने जोखिम

स्थिर ढंगले चलिरहेको कृष्णप्रसाद नेतृत्वको सरकारबाट एमाले एक्कासि बाहिरिएपछि अल्पमतमा पर्‍यो। एमाले बाहिरिएलगत्तै नेकपा पनि आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लियो। बहुमत पुर्‍याउने सम्भावना नदेखेपछि कृष्णप्रसादले प्रदेशसभाबाट राजीनामाको घोषणा गरे। जसपा नेपाल र नेकपासँग मिलेर सत्ता सहकार्य गर्ने तयारी एमालेको थियो।

तर प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समय अवधि सकिन केहीबेर मात्र बाँकी छँदा जसपा नेपालले सहकार्य नगर्ने निर्णय गरेपछि एमाले र नेकपा फेरि कांग्रेससँग सहयोग माग्न पुगेको थियो।

त्यसपछि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपा संसदीय दलका नेता युवराज भट्टराई सरकार गठनको दाबी पेस गर्ने अवधि थप गर्न भनेर प्रदेश प्रमुखलाई आग्रह गरेका थिए।

प्रदेश प्रमुख कर्णले भने तोकिएको अवधिमा कुनै पनि दलले दाबी नगरेको भन्दै संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री यादवलाई बहुमतको संख्या पुर्‍याउन कम्तीमा कांग्रेस अथवा एमालेको समर्थन आवश्यक हुन्छ। तर, अहिलेकै अवस्थामा उनले विश्वासको मत पाउने अवस्था देखिएको छैन। मुख्यमन्त्री यादवले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) बमोजिम सरकार बन्ने अवस्था सिर्जना हुन्छ।

‘उपधार (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था आएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ संविधानको धारा १६८ (५) मा व्यवस्था छ।

अहिलेको सरकारले विश्वासको मत पाउन नसके संविधानको धारा १६८ (५) बमोजिम सरकार बन्ने सम्भावना झनै क्षिण रहेकोले प्रदेशसभा नै विघटन गर्ने स्थिति सिर्जना हुने तर्क कतिपय कांग्रेस सांसदहरूको छ।

कांग्रेस मधेश प्रदेशका उपसभापतिसमेत रहेका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह उपधारा ५ मा पुग्ने अवस्था सिर्जना भए दुर्भाग्य हुने बताउँछन्। यो उपधारा अनुसार दलको ह्विपसमेत नलाग्ने भएकोले सरकार नै बन्न नसक्ने तर्क उनको छ।

‘अहिले त यस्तो लथालिङ अवस्था छ, उपाधारा ५ मा जानुपर्ने अवस्था आए थप समस्या आउने म देख्छु,’ सिंह भन्छन्,‘यो उपधारामा जाँदा सांसदहरूलाई ह्विप लगाउन पनि मिल्दैन, सरकार बन्ने अवस्था नै रहँदैन। अनि प्रदेशसभा विघटन गरेर चुनावमा जानुको विकल्प रहँदैन।’

१६८ (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने यसै धारको उपधारा (७) मा व्यवस्था छ।

यद्यपि अहिले नै यो अवस्था सिर्जना भइनसकेको सांसद सिंहको भनाइ छ। जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी हुने वा विपक्षमा बस्ने भन्ने विषयमा टुंगा लाग्न बाँकी रहेको उनको भनाइ छ।

‘औपचारिक रूपमा कुनै निर्णय भइसकेको छैन, व्यक्तिगत ढंगबाट कुराकानी अगाडि बढेको छ,’ उनले भने, ‘संसदीय दलमा छलफल गरेर यो विषयमा चाँडै निर्णय हुन्छ।’

मुख्यमन्त्री यादवले सर्वदलीय सरकार बनाउने दाबी गरिरहे पनि एमालेले भने यो सरकारलाई आफूहरूको समर्थन नरहने जनाएको छ।

जसपा नेपालले आफूहरूलाई धोका दिएर सहमति तोडेकोले एमालेको समर्थन नरहने एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले बताए।

‘अहिलेको सरोजकुमारजी संवैधानिक हिसाबले २९ दिनको मुख्यमन्त्री हुनुहुन्छ त्यो ठीकै हो, सर्वदलीय सरकार बनाउँछु भनेर भन्नु भएको छ त्यो उहाँलाई नै थाहा होला,’ महतोले भने, ‘यो सरकारलाई हाम्रो समर्थन रहँदैन यसमा पक्का हुनुस्।’

सत्ता सहकार्य गर्ने प्रतिबद्धता जनाएर अन्तिम समयमा सहमति तोडेकोले पनि जसपा नेपालको सरकारलाई एमालेले समर्थन नगर्ने उनको भनाइ छ।

‘एमालेसँग धारा १६८ (२) बमोजिम सरकार बनाउने सहमति उहाँहरूले गर्नुभएको थियो, अन्तिम समयमा आएर सहमति तोडेर उपधारा ३ बमोजिम सरकार बनाउनु भएको छ,’ महतोले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत लिँदा हाम्रो समर्थन रहँदैन, त्यसपछि कसरी कोर्स अगाडि बढ्छ त्यही हिसाबले निर्णय गरौँला।’

प्रकाशित: ११ मंसिर २०८३ १७:०६ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast