सेख हसिना। फाइल तस्बिर : एपी
काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाको ढाका आगमनको सम्भावित मिति (आगामी डिसेम्बर १६) सार्वजनिक भएसागै तारिक रहमान नेतृत्वको वर्तमान सरकार सक्रिय बनेको छ।
हसिनाको स्वदेश आगमन रोक्न सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ।
यसै सिलसिलामा बंगलादेशका विदेश राज्यमन्त्री हुमायुँ कबीरले अमेरिका, बेलायत र रुसका राजदूतहरुसँग भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बंगलादेशका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार राज्यमन्त्री कबीरले मंगलबार अबेर राति बेलायत, रुस, अमेरिका, चीन, युरोपेली संघ र संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग छलफल गर्दै हसिनाको फिर्ती र देशको सुरक्षा अवस्थाबारे जानकारी गराएका हुन्।
हसिना यतिबेला ढाका फर्किए देशको शान्ति सुरक्षा र कानुनी व्यवस्था बिग्रन सक्ने सरकारको ठम्याइ छ। त्यसैले सरकार तत्कालका लागि उनको आगमन टार्ने प्रयास गरिरहेको छ।
के छ सरकारको तर्क?
तारिक रहमान सरकारका अनुसार बंगलादेशमा अझै पनि हसिनाका लाखौँ समर्थक छन्। हसिनाको फिर्तीको बहानमा ती समर्थकहरु सडकमा उत्रिन सक्ने र तोडफोड तथा हिंसा मच्चाउन सक्ने सरकारको आशंका छ।
यस्तो परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरी र सेनाका लागि सहज बुझाइ सरकारको छ। हसिना नयाँदिल्लीबाट ढाका फर्कँदा उनका करिब २० लाख समर्थकले सडकमा जुलुस निकाल्न सक्ने बंगलादेश सरकारको अनुमान छ।
हसिनाको पार्टीका नेताहरुले यसका लागि पूर्ण तयारी गरिसकेको र सरकारले यसलाई ठूलो ‘शक्ति प्रदर्शन’ को रुपमा हेरेको छ।
सन् २०२४ मा भएकी थिइन् सत्ताच्युत?
सन् २०२४ सम्म हसिना सत्तामा थिइन्। सन् २०२४ को अगस्तमा भएको जनविद्रोह र सत्तापलटपछि ज्यान जोगाउन उनी भागेर भारतको नयाँदिल्ली पुगेकी थिइन्।
त्यसयता उनी दिल्लीमै बस्दै आएकी छन्। हसिनाले अमेरिकाको इसारामा आफूलाई सत्ताच्युत गराइएको आरोप लगाउँदै आएकी छन्। उनी सत्ताबाट हटेपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
उक्त अन्तरिम सरकारले गराएको आम निर्वाचनमा तारिक रहमानको पार्टीले जित हासिल गरेपछि अहिले उनको नेतृत्वमा सरकार बनेको छ। यसबीचमा हसिनाविरुद्ध सयभन्दा बढी मुद्दा दर्ता भएका छन् भने केही मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजयसमेत सुनाएको छ।
बंगलादेशको सरकारले भने सुपुर्दगी सन्धिमार्फत हसिनालाई हतकडी लगाएर मात्र नयाँदिल्लीबाट ढाका ल्याउन चाहेको स्पष्ट पारेको छ।



