मधेशमा फेरि कांग्रेस-एमालेकै गठबन्धन

हिमाल प्रेस ४ मंसिर २०८३ १७:३८ | Friday, November 20, 2026
मधेशमा फेरि कांग्रेस-एमालेकै गठबन्धन

काठमाडौँ- मधेश प्रदेशमा फेरि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै गठबन्धन बन्ने भएको छ। कांग्रेस नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको एमाले र नेकपा फेरि पुरानै गठबन्धन बनाउने निष्कर्षमा पुगेको हो।

शुक्रबार कांग्रेस प्रदेश संसदीय दलका नेता तथा कामचालाउ मुख्यमन्त्री कृष्णप्रसाद यादव तथा एमाले र नेकपाका प्रदेश सांसदहरू एक साथ प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णलाई भेटेर सरकार गठनको समय थप गर्न आग्रह गरेका छन्।

यसअघि एमाले र नेकपा सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ (२) बमोजिम शुक्रबार अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

तोकिएको अवधिमा सरकार गठनका लागि दाबी पेस नगरी कांग्रेस, एमाले र नेकपाले प्रदेश प्रमुखसँग समय थप गर्न आग्रह गरेका छन्।

एमालेका प्रमुख सचेत हरिनारायण महतोले सरकार गठनका लागि समय थप गर्न प्रदेश प्रमुखसँग तीन दलले आग्रह गरेको जानकारी दिए।

‘बहुमतको संख्या पु¥याउन सक्ने हामी तीन दलले सरकार गठनका लागि समय थप्न प्रदेश प्रमुखसँग आग्रह गरेका छौँ,’ महतोले भने,‘अब कति दिनको समय थप हुन्छ त्यसअनुसार सरकार बनाउने दाबी पेस गर्नेछौँ।’

कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा नेपालसँग मिलेर सरकार बनाउने तयारी एमालेको थियो। तर, अन्तिम समयमा जसपा नेपालले एमालेसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो। प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकोले जसपा नेपाल संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन गर्न चाहेको छ।
गठबन्धन नगर्ने जसपा नेपालको निर्णयपछि एमाले र नेकपा फेरि कांग्रेससँग गठबन्धन गर्न बाध्य भएको हो।

जसपा नेपालले आफूहरूसँग गठबन्धन नगर्ने निर्णय गरेपछि फेरि पुरानै गठबन्धन ब्यँताउनुपरेको एमाले प्रमुख सचेतक महतोले बताए।

यसैबीच जसपा नेपालका प्रदेश सांसदहरू पनि प्रदेश प्रमुख कार्यालय पुगेर संविधानको धारा १६८ (३) बमोजिम सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको बताइएको छ।

प्रदेश प्रमुख कार्यालयले भने हालसम्म कुनै निर्णय गरेको छैन।

प्रकाशित: ४ मंसिर २०८३ १७:३८ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast