काठमाडौँ- गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो।
सिआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार पक्राउ पर्ने अन्यमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
प्रवक्ता जबराले उनीहरूमाथि थप अनुसन्धान गर्न बिहीबार जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थपको अनुमति प्राप्त भएको जानकारी दिए।
सिआईबीले मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थियो।
मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सिआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो।
पक्राउ परेका ६ जनामाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।



