पुत्रजया- मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बंगलादेशी आप्रवासी कामदारहरूको अधिकार संरक्षणलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बंगलादेशी प्रधानमन्त्री तारिक रहमानसँग सोमबार भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री अनवरले श्रमिकमाथि हुने शोषण र दुर्व्यवहार अस्वीकार्य रहेको बताए।
मलेसियामा करिब आठ लाख बंगलादेशी कामदार कार्यरत छन्, जुन देशको आप्रवासी श्रमशक्तिको करिब एक तिहाइ हो।
हालका वर्षमा श्रमिकले भुक्तानी नपाएको ज्याला, भर्ती, ठगी तथा अत्यधिक शुल्क तिर्न बाध्य भएपछि अलपत्र परेका घटनाहरू सार्वजनिक भएका छन्। यसले आप्रवासी श्रमिकहरू ऋणको बन्धनमा फसेको भन्दै अन्तर्राष्ट्रिय चासो बढेको छ।
प्रधानमन्त्री अनवरले मानव संसाधन सहकार्यलाई दुवै देशको अस्तित्वका लागि महत्वपूर्ण भन्दै श्रमिकको शोषण कुनै पनि हालतमा सहन नसकिने बताए।
त्यस्तै, बंगलादेशका प्रधानमन्त्री रहमानले भर्ती प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सस्तो बनाउन तथा बिचौलियाको सङ्ख्या घटाउनुपर्नेमा जोड दिए।
संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले समेत मलेसियामा बंगलादेशी कामदारहरूले शोषण, ठगी र ऋणको बन्धनको समस्या सामना गरिरहेको भन्दै दुवै सरकारलाई जिम्मेवार व्यक्तिहरूमाथि कारबाही गर्न आग्रह गरेका छन्।




