प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता, के भयो कुराकानी?

हिमाल प्रेस ६ असोज २०८३ १२:२९ | Tuesday, September 22, 2026
10
SHARES
प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता, के भयो कुराकानी?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच मंगलबार टेलिफोन वार्ता भएको छ।

प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन जोड दिए।

उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग बताएको प्रधानान्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने भन्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिएका थिए।

‘हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग भने,‘त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’

प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र विचौलिया प्रथाको विरुद्धमा रहेको बताएका छन्।

उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने,‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु।’

प्रकाशित: ६ असोज २०८३ १२:२९ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast