हेडले आईपीएलको आगामी सिजन नखेल्ने भएका हुन्?

हिमाल प्रेस १ मंसिर २०८३ १५:१६ | Tuesday, November 17, 2026
हेडले आईपीएलको आगामी सिजन नखेल्ने भएका हुन्?

नयाँदिल्ली- अस्ट्रेलियाका विस्फोटक ओपनर ब्याटर ट्राभिस हेडले इन्डियन प्रिमियर लिग २०२७ नखेल्ने निर्णय गरेका छन्। उनले आगामी सिजनबाट बाहिरिनेबारे आफ्नो फ्रेन्चाइज टोली सनराइजर्स हैदराबादलाई जानकारी गराइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेडको यो निर्णयसँगै आईपीएलमा चर्चित बनेको उनको र अभिषेक शर्माको ओपनिङ जोडी ‘ट्राभिशेक’ पनि टुट्ने भएको छ। व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकाका कारण आफ्नो कार्यभार (वर्कलोड) कम गर्न हेडले आईपीएलबाट विश्राम लिने निर्णय गरेका हुन्।

हेडले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि आईपीएलबाट स्वीकृति प्राप्त भएमा सनराइजर्स हैदराबादको अक्सन पर्समा १४ करोड भारतीय रुपैयाँ थपिनेछ। आईपीएल २०२७ को मिनी अक्सन डिसेम्बर १६ मा गोवामा आयोजना हुनेछ।

सनराइजर्स हैदराबादले सन् २०२५ को मेगा अक्सनअघि पाँच जना क्याप्ड खेलाडीलाई रिटेन गरेको थियो। त्यसबेला चार जना क्याप्ड खेलाडीलाई रिटेन गर्न ६१ करोड रुपैयाँ खर्च हुने व्यवस्था थियो।

हेडबाहेक टोलीमा रिटेन भएका अन्य चार खेलाडीको पारिश्रमिक पनि जम्मा ६१ करोड रुपैयाँ नै छ। जसमा हेनरिक क्लासेनले २३ करोड, प्याट कमिन्सले १८ करोड, अभिषेक शर्माले १४ करोड र नितिश कुमार रेड्डीले ६ करोड रुपैयाँ पाउँछन्। त्यसैले हेडलाई रिलिज गर्दा रिटेन्सन स्ल्याबअनुसार फ्रेन्चाइजको अक्सन पर्समा थप आर्थिक कटौती हुने छैन।

हेडको यो निर्णय अप्रत्याशित भने होइन। यसअघि अगस्टमा अस्ट्रेलियाका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले सन् २०२७ को व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकालाई ध्यानमा राख्दै खेलाडीहरूले केही कठिन निर्णय लिनुपर्ने संकेत गरेका थिए। सन् २०२७ मा अस्ट्रेलियाले २० टेस्ट खेल खेल्ने तालिका छ। त्यसबाहेक जुन महिनामा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल हुने सम्भावना छ।

त्यसपछि जुनदेखि अगस्टसम्म इंग्ल्यान्डविरुद्ध एसेज सिरिज हुनेछ भने अक्टोबर-नोभेम्बरमा एकदिवसीय विश्वकप आयोजना हुनेछ। लगातारको व्यस्त खेल तालिकालाई मध्यनजर गर्दै हेडले आईपीएलबाट विश्राम लिने निर्णय गरेको बताइएको छ।

सन् २०२३ को अक्सनमा कुनै टोलीले नकिनेका हेडलाई सनराइजर्स हैदराबादले सन् २०२४ को अक्सनमा ६.८ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। त्यसबेला टोलीका मुख्य प्रशिक्षक ड्यानियल भिटोरीले बायाँहाते ओपनरलाई टोलीमा समावेश गर्ने योजना रहेको बताएका थिए।

हेडले सन् २०२४ को सिजनमा १९१.५५ को स्ट्राइक रेट र ४० भन्दा बढीको औसतमा ५६७ रन बनाउँदै टोलीको विश्वासलाई सही साबित गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनकै सहयोगमा हैदराबाद फाइनलसम्म पुगेको थियो। तर फाइनलमा कोलकाता नाइट राइडर्ससँग पराजित भयो।

यसअघि हेडले रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि १० खेल खेलेका थिए। हैदराबादका लागि भने उनले ४३ खेलमा ३२.९५ को औसत र १७६.१४ को स्ट्राइक रेटमा १ हजार ३५१ रन बनाएका छन्।

ट्राभिस हेड र अभिषेक शर्माको जोडीले आईपीएलमा आक्रामक ब्याटिङमार्फत नयाँ कीर्तिमान बनाएको थियो। उनीहरूको साझेदारीका तथ्यांकले पनि यो जोडीको प्रभावकारिता पुष्टि गर्छ।

आईपीएलमा कम्तीमा एक हजार साझेदारी रन बनाएका जोडीमध्ये ट्राभिस हेड र अभिषेक शर्माको रनरेट सबैभन्दा उत्कृष्ट छ। उनीहरूले प्रतिओभर १२.२७ रन बनाएका छन्।

सनराइजर्स हैदराबादका लागि सर्वाधिक साझेदारी रन बनाउने जोडीको सूचीमा हेड र अभिषेक दोस्रो स्थानमा छन्। उनीहरूभन्दा अगाडि शिखर धवन र डेभिड वार्नरको जोडी छ।

हेड र अभिषेकले ४२ इनिङ्समा ४६.१४ को औसतमा कुल १ हजार ८९२ रनको साझेदारी गरेका छन्। यस क्रममा उनीहरूले ६ शतकीय र ९ अर्धशतकीय साझेदारी गरेका छन्।

प्रकाशित: १ मंसिर २०८३ १५:१६ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast