इमरान खान।
काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले जेलमा उनलाई शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै तत्काल उपचार र परिवारसँग सम्पर्कको व्यवस्था नगरिए ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
स्काई न्युजसँगको अन्तर्वार्तामा सुलेमान इसा खान र कासिम खानले आफ्ना ७४ वर्षीय बुबालाई अडियाला जेलमा दिनको २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र स्वतन्त्र चिकित्सकको पहुँचबाट वञ्चित गरिएको बताए। उनहरूको दाबीअनुसार खानको रक्तचाप करिब १९३ पुगेको छ र तत्काल उपचार आवश्यक छ।
छोराहरूले सर्वोच्च अदालतले गत अगस्ट १८ मा खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउन तथा परिवारसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको आरोप लगाएका छन्।
खानले पनि हालै सार्वजनिक गरेको खुला पत्रमा रक्तचाप १९२ देखि १९३ पुगेको, मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको तथा दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको उल्लेख गरेका छन्।
उनले सन् २०२५ डिसेम्बर २० देखि दैनिक २२ घण्टा एकान्त कारावासमा राखिएको र भेटघाट तथा कानुनी परामर्शमा प्रतिबन्ध लगाइएको बताएका छन्।
छोराहरूले बुबासँग अन्तिम पटक गत मार्च २२ मा फोनमा कुरा गरेको र सन् २०२२ नोभेम्बरयता व्यक्तिगत रूपमा भेट्न नपाएको बताएका छन्। हत्याको प्रयासमा गोली लागेर घाइते भएको केही समयपछि सन् २०२३ अगस्टमा खान पक्राउ परेका थिए।
अदालतको आदेशअनुसार खानलाई निजी अस्पतालमा सार्नुपर्ने भए पनि अधिकारीहरूले उनलाई राज्यद्वारा सञ्चालित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा केही समय राखेर पुनः जेल फर्काएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।



