न्युयोर्कमा ३७ घण्टा रहेका बालेन दिल्लीमा २७ घण्टा बिताउँदै

मुख्य एजेन्डा हवाई सम्पर्क र आर्थिक सहयोग, मोदीसँग आधा घण्टा एकान्त वार्ताको तयारी

हिमाल प्रेस १ मंसिर २०८३ १५:१३ | Tuesday, November 17, 2026
न्युयोर्कमा ३७ घण्टा रहेका बालेन दिल्लीमा २७ घण्टा बिताउँदै

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा जाने प्रायः निश्चित भएको छ। उनको भ्रमण तीन दिनका लागि तय गर्ने तयारी भए पनि प्रधानमन्त्रीकै आग्रहमा मंसिर ६ देखि ७ गतेसम्म दुई दिनमा सीमित गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए। शाह मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली पुग्ने र भोलिपल्ट साँझ फर्कनेछन्।

उपलब्ध तालिकाअनुसार दिल्लीमा उनको बसाइ बढीमा २७ घण्टाको हुनेछ। यसअघि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री बालेनले त्यहाँ करिब ३७ घण्टा बिताएका थिए। दिल्लीमा उनको बसाइ त्यसको तुलनामा झन्डै १० घण्टा कम हुनेछ। न्युयोर्क भ्रमणमा पनि उनले लामो कार्यक्रम नराखी सीमित भेटघाट गरेका थिए।

दिल्ली भ्रमणमा समेत उनको प्राथमिकता मुख्य राजनीतिक भेटवार्ता र द्विपक्षीय छलफलमा देखिएको छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो। आठ महिनाअघि पदभार ग्रहण गरेलगत्तै उनले पहिलो वर्ष विदेश भ्रमण नगर्ने संकेत दिएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा र द्विपक्षीय सम्बन्धको महत्त्वलाई ध्यानमा राखेर भ्रमण तय भएको हो।

प्रधानमन्त्री शाहले परिणाममुखी वार्ता गर्ने तर घुम्ने र हेर्ने काममा आफू नलाग्ने बताउँदै अहिलेसम्मकै छोटो राजकीय भ्रमण गर्न लागेका हुन्। २०४६ को परिवर्तनपछि नेपालका कुनै पनि प्रधानमन्त्रीले यति छोटो भारत भ्रमण गरेको पाइँदैन। यो नेपालका प्रधानमन्त्रीका भारत भ्रमणहरूमध्ये सबैभन्दा छोटो हुनेछ। परम्परागत रूपमा यस्ता भ्रमण प्रायः तीनदेखि सात दिन वा त्यसभन्दा लामो हुने गरेका थिए। निकै छोटो भ्रमणमा पनि प्रधानमन्त्रीहरू दुई रात दिल्लीमा बसेको पाइन्छ।

भारतले प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीबाहिरका बेंगलुरु वा अहमदाबाद लैजान परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो तर प्रधानमन्त्रीले दिल्लीबाहिर नजाने र मुख्य भेटवार्तापछि काठमाडौँ फर्कने जानकारी दिएपछि भ्रमण छोट्याइएको हो।

प्रधानमन्त्रीले भ्रमण छोट्याएर अन्य मन्त्री तथा कर्मचारीलाई समेत सन्देश दिन खोजेका हुन सक्छन्। टोलीका टोली विदेश भ्रमणमा गइरहने प्रवृत्तिलाई ध्यानमा राखेर प्रधानमन्त्रीले आफ्नो राजकीय भ्रमण पनि छोटो बनाउन लगाएको उनीनिकट अधिकारीहरूको दाबी छ।

कर्मचारीहरूले सांसद र मन्त्रीलाई सकेसम्म विदेश जान प्रोत्साहित गर्ने, आफू पनि त्यस्ता भ्रमणमा सहभागी हुने र कतिपय भ्रमणमा नेपालको खर्च नहुने भन्दै त्यसलाई उचित ठहर्‍याउने गरेका छन्। तर, त्यस्ता भ्रमणमा खर्च हुने रकम नेपालको नाममै खर्च भएको हुन्छ भन्ने तथ्य बुझ पचाएर विदेश सयरमा रमाउनेहरूका लागि प्रधानमन्त्रीको यो कदम एउटा उदाहरण हुन सक्छ। प्रधानमन्त्रीले भ्रमण छोटो भएकामा भारतले पनि संकोच मान्न नपर्ने र नेपालको वर्तमान अवस्था बुझ्नुपर्ने सन्देश दिएको उनको सचिवालयका अधिकारीले जानकारी दिए।

भारत भ्रमणमा प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँग आधा घण्टा एक्लाएक्लै वार्ता गर्ने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने गरी तयारी अघि बढेको छ। दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै भेटमा औपचारिक तथा अनौपचारिक छलफल हुनेछ भने प्रतिनिधिमण्डलस्तरीय वार्तामा तय गरिएका एजेन्डामा छलफल हुनेछ। त्यस क्रममा कैयौँ सहकार्यलाई अन्तिम रूप दिने तयारी रहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भएको बैठकमा भ्रमणको तालिका, एजेन्डा, अपेक्षित नतिजा र व्यवस्थापकीय पक्षबारे छलफल भएको मन्त्रालयका अधिकारीले जानकारी दिए। राजदूत दलेलाले भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग पनि भेटेर सम्बन्धित क्षेत्रका विषयमा छलफल गरिसकेका छन्।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले कात्तिक १८ र १९ गते काठमाडौँ भ्रमण गरी प्रधानमन्त्री बालेनसहित परराष्ट्र, अर्थ, ऊर्जा र पूर्वाधारमन्त्रीसँग छलफल गरेका थिए। उनले नेपालका परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेर प्रधानमन्त्रीको भ्रमणको खाका पनि तयार गरेका थिए। उक्त भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी र सम्भावित उपलब्धिबारे छलफल गर्नु थियो। दुवै देशका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यमा पनि आगामी भ्रमणका सम्भावित पहल र उपलब्धिबारे छलफल भएको उल्लेख छ।

यसै हप्ताको अन्त्यमा परराष्ट्र मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरू सम्मिलित टोली भारत गएर भ्रमणअघिको तयारी गर्नेछ। पर्यटनमन्त्री खडकराज पौडेल पनि मङ्गलबार भारत जाने कार्यक्रम छ। त्यहाँ हवाई रुटसम्बन्धी बाँकी प्राविधिक विषयमा अन्तिम छलफल हुने अपेक्षा छ।

मुख्य एजेन्डा हवाई सम्पर्क र आर्थिक सहयोग

भ्रमणमा नेपालले लामो समयदेखि उठाउँदै आएका केही महत्त्वपूर्ण द्विपक्षीय मुद्दा प्राथमिकतामा पर्ने अपेक्षा छ। विशेषगरी नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि भारतीय आकाश हुँदै थप प्रवेशमार्ग उपलब्ध गराउने विषय नेपालले उठाउँदै आएको छ। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान सहज बनाउन यो विषय महत्त्वपूर्ण मानिएको छ। यो मुद्दा दशकौँदेखि चर्चामा रहँदै आएको छ र यसपटक ठोस प्रगति हुने अपेक्षा गरिएको छ।

यस विषयमा नेपालले अर्को छिमेकीसँग सहकार्य गरेर परियोजना निर्माण अघि बढाउँदा भारतसँग छलफल नगरेको र छिमेकीको सुरक्षा संवेदनशीलतामा ध्यान नदिएको भारतको तर्क छ। नेपालको पक्षबाट त्यहाँको सुरक्षा अवस्था अध्ययन नगरिएको विषयलाई भारतीय पक्षले बलियो तर्कका रूपमा अघि सार्न सक्छ। भ्रमणको प्रमुख अपेक्षित उपलब्धिमध्ये नेपालको लामो समयदेखिको मागअनुसार भारतीय आकाश हुँदै थप प्रवेशमार्ग उपलब्ध गराउने विषय पनि हो। महाकाली, भैरहवा, नेपालगन्ज र जनकपुर हुँदै थप रुट उपलब्ध गराउने विषयमा प्रगति हुने सम्भावना छ।

भारतले महाकाली रुटका विषयमा सकारात्मक संकेत दिएको छ। यो रुटमा विमान उच्च उचाइमा प्रवेश गर्नुपर्ने हुन्छ भने भैरहवा रुटमा कम उचाइमा प्रवेश सम्भव हुनेछ, जसले सामान्य उडान र अवतरणलाई सहज बनाउँछ। नेपालले पूर्वी नेपालको आकाश बागडोगरा विमानस्थलका लागि प्रयोग गर्न भारतलाई दिन सकारात्मक रहेको जनाएको छ। रक्सौलका लागि भने प्राविधिक विवरण मागिएको छ।

यो विषय ‘दिने र लिने’ आधारमा अघि बढ्ने देखिएको छ। शुक्रबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जय नारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल सम्मिलित टोली दिल्ली गएर यसबारे छलफल गरिसकेको छ।

आर्थिक पक्षमा भारतले नेपालको अनुरोधअनुसार आर्थिक प्याकेज घोषणा गर्ने, भारतको सहयोगमा सञ्चालित केही नयाँ परियोजनाको शिलान्यास गर्ने र सम्पन्न परियोजनाको उद्घाटन गर्ने अपेक्षा छ। त्यस्तै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि पुनर्निर्माणका लागि भारतसँग आर्थिक तथा प्राविधिक सहयोगको विषय पनि छलफलमा आउने अधिकारीहरूले जानकारी दिएका छन्। नेपालले बाढीपछिको पुनर्निर्माणका लागि भारतसँग ठूलो आर्थिक सहयोग प्याकेजको अपेक्षा गरेको छ।

करिब दुई अर्ब डलरको सहायता नेपालले भारतसँग खोजिरहेको अधिकारीहरूले बताएका छन्। अयोध्या–जनकपुर प्रत्यक्ष रेल सम्पर्क, पनौतीमा नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलाको पुल र भैरहवाको एकीकृत जाँच चौकीजस्ता परियोजना कार्यक्रममा समावेश हुने सम्भावना छ। नेपालको विकासमा भारतको साथ र सहयोग रहँदै आएको भए पनि कैयौँ विषयमा सम्झौता भएर पनि काम अघि नबढेकोबारे छलफल हुनेछ।

साथै, प्रत्यक्ष हवाई सम्पर्क, सीमापार एलपीजी पाइपलाइन, पेट्रोलियम पाइपलाइन विस्तार, धार्मिक तथा पर्यटन सर्किट विकास, आईआईएम र आईआईटीका शाखा स्थापना, क्रिकेटलगायत खेलकुदमा सहयोग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा सहकार्यजस्ता प्रस्ताव पनि छलफलमा छन्।

ऊर्जा क्षेत्रमा नेपालले वार्षिक एक हजार ६ सय ५० मेगावाटभन्दा बढी बिजुली भारतलाई बेच्ने र बंगलादेशतर्फको निर्यात हालको ४० मेगावाटबाट बढाउने चाहना राखेको छ। विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली र भारतको सहयोगमा सञ्चालित परियोजना समयमै सम्पन्न गर्ने विषय पनि एजेन्डामा छन्।

भारतले जलविद्युत् क्षेत्रमा आफ्नो संलग्नता विस्तार गर्न र एनएचपीसीसँग सम्बन्धित परियोजनाका अवरोध हटाउन चाहेको छ। भ्रमणमा केही ठोस घोषणा हुने अपेक्षा गरिए पनि सीमा विवाद, बढ्दो व्यापार घाटा, व्यापार तथा पारवहन व्यवस्था, भारतीय सेनामा नेपाली नागरिकको भर्ती र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाजस्ता दीर्घकालीन तथा विवादास्पद मुद्दामा ठोस प्रगति हुने सम्भावना कम छ।

पञ्चेश्वरमा पानी बाँडफाँटको विषयमा मतभेद कायमै रहेकाले ठोस घोषणा हुने सम्भावना न्यून रहेको अधिकारीहरू बताउँछन्। दुवै पक्षले यस हप्ताको अन्त्यसम्ममा संयुक्त वक्तव्यको मस्यौदा तयार गर्ने र समझदारीमा पुग्ने प्रयास गरिरहेका छन्। छोटो भ्रमण भए पनि मुख्य विषयमा प्रगति हुने अपेक्षा गरिएको छ। तर, सबै दीर्घकालीन मुद्दा एकै पटक समाधान हुने सम्भावना भने कम देखिन्छ। भारतसँग विश्वासको वातावरण बनाउन सके र नेपालप्रति भारतले पनि विश्वास आर्जन गर्न सके बंगलादेशसँग थाती रहेको विवाद टुङ्ग्याएजस्तै नेपालसँगका विवाद पनि क्रमशः टुङ्ग्याउन सकिने सम्भावना देखिन्छ।

भारतले प्रधानमन्त्री बालेनको भ्रमणलाई नेपाल–भारत सम्बन्धका सबै आयाममा छलफल गर्ने अवसरका रूपमा लिएको छ। भारतीय विदेश मन्त्रालयले यसअघि नै भ्रमणको निमन्त्रणाबारे दुई पक्षबीच छलफल भइरहेको र सम्बन्धका विविध पक्षमा कुराकानी हुने जनाएको थियो। भ्रमण छोट्याउने नाममा आवश्यक द्विपक्षीय संवाद, परियोजनाको स्थलगत अध्ययन र सम्बन्धित पक्षसँगको भेटघाट भने छुट्नु हुँदैन।

बालेनको दिल्ली भ्रमणको वास्तविक सफलता उनी कति घण्टा बसे भन्नेमा होइन, नेपालले वर्षौंदेखि उठाउँदै आएका मुद्दामा कति प्रगति गर्न सके भन्नेमा निर्भर हुनेछ। प्रधानमन्त्री बालेनले मंसिर ७ गते बिहान नेपाल र भारतका व्यवसायीहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। यद्यपि, भ्रमणको औपचारिक घोषणा र अन्तिम तालिका भने अझै आउन बाँकी छ। तालिका र एजेन्डालाई अन्तिम रूप दिँदा केही परिमार्जन हुन सक्ने सम्भावना पनि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast