रास्वपा सभापति रवि लामिछाने। फाइल तस्बिर
काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको ईभी माइक्रो बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
लामिछानेले सम्पूर्ण घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकहरूले दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका हुन्।
उनले एउटै बस्ती र टोलमा परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने बिहीबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लामिछानेले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
दुर्घटनामा घाइते भएका सबैको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।
भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुबाहक विद्युतीय गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो।



