काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको ईभी माइक्रोबस दुर्घटनाप्रति जन अधिकार पार्टीले दुःख व्यक्त गरेको छ।
पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी १० जनाको मृत्यु भएको र ५ जना गम्भीर घाइते भएको खबरले स्तब्ध एवं मर्माहत बनाएको जनाएको हो।
पार्टीका अध्यक्ष डा.शरद सिंह यादवले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
विज्ञप्तिमार्फत पार्टीले नेपाल सरकार तथा सम्बन्धित निकायसँग घाइतेहरूको तत्काल प्रभावकारी उपचारको व्यवस्था गर्न, उपचारमा कुनै कमी हुन नदिन तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा सडक व्यवस्थापनका प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।



