बर्दिया- बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका-९ निवासी १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर-९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन्।
उनको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बोहराले जानकारी दिए। घाइते भएका दुवैलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो।
दुवैलाई थप उपचारका लागि भारतको लखनउस्थित समरामेक्स अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा कात्तिक २४ गते बिहान ७ बजे थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१४प ८६२४ नम्बरको मोटरसाइकल कात्तिक २३ गते बिहान ७:२५ बजे बढैयाताल गाउँपालिका-८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको क्षतिग्रस्त मोटरसाइकल प्रहरी चौकी शीतलाबजारमा राखिएको छ।



