व्यक्तिगत स्वार्थ त्यागेर जनताको हितमा काम गर्न सभामुख अर्यालको आग्रह

हिमाल प्रेस २४ कार्तिक २०८३ १५:५४ | Tuesday, November 10, 2026
व्यक्तिगत स्वार्थ त्यागेर जनताको हितमा काम गर्न सभामुख अर्यालको आग्रह

भक्तपुर- सभामुख डोलप्रसाद अर्यालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने बताएका छन्।

नेपाल संवत् ११४७ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रममा बोल्दै सभामुख अर्यालले शङ्खधर साख्वाःले देखाएको मार्ग पछ्याउँदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

नेपाल संवत् वर्ष गणना गर्ने आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको उनले बताए।

आफ्नो व्यक्तिगत सम्पत्ति जनतालाई समर्पण गरी जनताको ऋणमोचन गर्ने शङ्खधर साख्वाःको ऐतिहासिक योगदान सामाजिक न्याय र लोककल्याणका क्षेत्रमा उदाहरणीय रहेको उनको भनाइ थियो।

सरकारी कामकाज तथा अभिलेखमा नेपाल संवत्को प्रयोग हुन थालेको उल्लेख गर्दै उनले बदलिँदो परिवेशअनुसार आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरी नेपाल संवत्लाई शैक्षिक क्षेत्रदेखि डिजिटल प्रणालीसम्म प्राथमिकता दिनुपर्ने बताए।

इतिहास र संस्कृतिको संरक्षण, सार्वजनिक जीवनमा इमानदारिता र जवाफदेहिता कायम गर्नुका साथै विविधताबीचको एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउन सबैले प्रतिबद्धता जनाउनुपर्ने उनले बताए। राष्ट्रिय विभूति साख्वाःले देखाएको बाटो पछ्याउँदै देश र जनताको हितमा काम गर्न पनि उनले सबैलाई आग्रह गरे।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै प्रदेशभित्रका विभिन्न जातजाति, भाषा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा संवर्द्धनका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताए।

सङ्ग्रहालय निर्माण तथा भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि बागमती प्रदेशका सबै जिल्लामा शङ्खधर साख्वाः प्रतिष्ठान स्थापना गर्ने कार्यक्रम दोलखाबाट सुरु भएको उनले जानकारी दिए। क्रमशः सबै जिल्लामा प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता पनि उनले जनाए।

बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने गरी ऐन बनाएर लागू गरेको उल्लेख गर्दै उनले कोशी प्रदेशले पनि १३ वटा भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याएको बताए।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको नाममा सङ्ग्रहालय निर्माणको काम अघि बढाएको बताए। साख्वाःको विशिष्ट योगदान आमजनतामाझ पुर्‍याउन विभिन्न कार्यक्रम र योजनासमेत अघि बढाइएको उनले जानकारी दिए।

कार्यक्रमका अवसरमा सभामुख अर्याल, गृहमन्त्री सुदन गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री थापामगरलगायत अतिथिले शङ्खधर चोकमा रहेको साख्वाःको सालिकमा माल्यार्पण गरे।

नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं सांसद मदनकृष्ण श्रेष्ठ तथा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले राष्ट्रिय विभूति साख्वाःको योगदानको चर्चा गर्दै उनको सालिक देशव्यापी रूपमा स्थापना गर्ने अभियान सुरु भइसकेको बताए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार इतिहासकार हरिराम जोशीलाई प्रदान गरियो।

त्यस्तै, प्रतिष्ठानले प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँ राशिको संस्थागत पुरस्कार शङ्खधर साख्वाः निर्माण समिति, चरिकोटलाई प्रदान गरियो।

प्रकाशित: २४ कार्तिक २०८३ १५:५४ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast