मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी गरिँदै, प्रधानमन्त्री आउने चर्चा

हिमाल प्रेस २४ कार्तिक २०८३ १५:२९ | Tuesday, November 10, 2026
मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी गरिँदै, प्रधानमन्त्री आउने चर्चा

जनकपुरधाम- दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ। त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ। त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशयको सरसफाइ तथा शृङ्गार थालिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिए।

उनका अनुसार गंगासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ। विशेषगरी गंगासागर र धनुषसागरलगायतका जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइ तथा शृङ्गारलाई तीव्रता दिइएकोछ।

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भइरहेकाले गंगासागर छठ घाटलाई थप व्यवस्थित र शृङ्गार्ने तयारी भइरहेको उनको भनाइ छ।

जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजासामाग्रीसहित बाँसबाट निर्मित सामग्री खरिदको चहलपहल विस्तारै बढेको छ। छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको स्थानीय सुमित्रादेवी कर्णले बताइन्।

छठ पर्व नजिकिँदै गर्दा पुस्तौँदेखि बाँसको सामग्री उत्पादन गर्दै आएका डोम समुदाय पनि अहिले त्यस्ता सामाग्री निर्माण गर्न भ्याइनभ्याइ अवस्थामा छन्। ती समुदायका धेरै परिवारले पुख्र्यौली पेसाका रूपमा बाँसका चोयाबाट विभिन्न पूजासामग्री राख्ने छिटी, नाङ्लो र ढाकी निर्माण गर्दै आएका छन्।

छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारीगरको उत्पादनले पनि बजार पाउने गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८३ १५:२९ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast