मधेशमा बढ्यो छठको चहलपहल

हिमाल प्रेस ९ कार्तिक २०८३ १६:३० | Monday, October 26, 2026
8
SHARES
मधेशमा बढ्यो छठको चहलपहल छठका लागि जनकपुरधामस्थित धनुषसागर पोखरी सरसफाइ गर्दै नेपाल प्रहरी। फाइल तस्बिर।

धनुषा- लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेशका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ।

छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेपछि व्यपारी उत्साहित देखिएका छन्।

छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दा प्रयोग गरिने बाँसका ढाकी, सुप, नाङ्लो र कोनियालगायत सामग्रीको विशेष महत्त्व छ।

पूजाका सामग्री, फलफूल, नरिवल, उखु र ठेकुवालगायत प्रसाद राख्न प्रयोग गरिने यस्ता सामग्रीको किनमेल पर्व नजिकिएसँगै बढ्न थालेको हो।

परम्परादेखि छठ पूजामा बाँसका सामग्री प्रयोग हुँदै आएकाले आधुनिक सामग्रीको प्रयोग बढे पनि ग्रामीण क्षेत्रका अधिकांश परिवारले परम्परागत सामग्रीलाई प्राथमिकता दिने गरेका छन्।

त्यसले स्थानीय हस्तकला र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपको संरक्षणमा सहयोग पुर्याउँदै आएको छ। छठको तयारीसँगै विभिन्न गाउँबस्तीमा सामाजिक सहयोगका गतिविधि बढिरहेको पाइएको छ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरी केही व्यक्ति तथा समाजसेवीले छठ पूजा गर्न आवश्यक सुप, नाङ्लो र दाउरा वितरण गरिरहेका पाइएको छ। त्यस्ता सहयोगले विपन्न परिवारलाई पर्व मनाउन सहज बनाएको स्थानीयवासी बताउँछन्।

छठ पर्वमा व्रतालुले कठोर नियम पालना गर्दै श्रद्धापूर्वक सूर्यदेव र छठीमाताको पूजा गर्ने परम्परा छ। परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको कामनासँगै यस पर्वले सामाजिक सद्भाव, आपसी सहयोग र एकताको सन्देश दिने विश्वास गरिन्छ।

पर्व नजिकिएसँगै घरआँगनको सरसफाइ तथा नदी, पोखरी र जलाशयका घाट व्यवस्थापनको तयारी पनि तीव्र हुने गरेको छ।

छठको मुख्य दिन नजिकिँदै जाँदा पूजाका सामग्रीको किनमेल, घाट सरसफाइ र व्यवस्थापनका कामले थप गति लिने अपेक्षा गरिएको छ।

मिथिला क्षेत्रमा विशेष उत्साहका साथ मनाइने छठले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिदैँ स्थानीय बजारको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने गरेको छ।

बजारमा बढ्दो चहलपहल र गाउँबस्तीमा सुरु भएका तयारीले छठको रौनक क्रमशः बढ्दै गएको अनुमान गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १६:३० | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast