नेपाली समाजले अब थप घृणा थेग्न सक्दैन : गगन थापा

हिमाल प्रेस २१ कार्तिक २०८३ २०:११ | Saturday, November 7, 2026
नेपाली समाजले अब थप घृणा थेग्न सक्दैन : गगन थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनलाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

ललितपुरका विभिन्न स्थानमा मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाइएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै सभापति थापाले भौतिक सम्पदाभन्दा पनि समाजमा कायम प्रेम, सद्भाव, विश्वास र भाइचाराजस्ता अमूर्त सम्बन्ध बढी महत्त्वपूर्ण हुने बताए।

टोल सुधार समितिजस्ता स्थानीय संस्थाले सामाजिक सम्बन्ध र सामुदायिक एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

नयाँपन भित्र्याउने नाममा कतिपय स्थानमा पुराना संरचना पूर्ण रूपमा भत्काउने र पुराना सम्पदा संरक्षण गर्ने क्रममा नयाँ विकासलाई स्थान नदिने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले दुवै पक्षबीच सन्तुलन कायम गर्नुपर्ने बताए।

नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गर्दै उनले समाजलाई अघि बढाउन नकारात्मकताभन्दा सकारात्मक सोच र ऊर्जाको मात्रा बढाउनुपर्ने धारणा राखे।

उनले नेपाली समाजलाई आफ्नो जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने आवश्यकता औँल्याए। प्रविधि र डिजिटल संसारमा मात्र सीमित नभई मानिसबीच प्रत्यक्ष भेटघाट, आपसी संवाद र सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

स्थानीयस्तरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम सामान्य देखिए पनि सामाजिक एकता र सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण हुने उनले बताए।

प्रकाशित: २१ कार्तिक २०८३ २०:११ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast