काठमाडौँ – सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूत जनक पाण्डेले न्यायलयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्।
शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा प्रस्तावित राजदूत पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैँ टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्।
न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ।
उनले पञ्चवर्षीय योजना आएपछि फैसला लेखन र न्यायको गुणस्तरमा सुधार गर्नुपर्ने कुरामा जोड दिँदै, न्यायाधीशहरूले फैसला गर्दा त्यसको स्तर र प्रमाणको मूल्यांकनमा विशेष ध्यान दिनुपर्ने बताए।
उनले अदालतको अनुसन्धान, मिसिल जाँच र पुरानै ढर्राको कार्यशैलीमा व्यापक सुधार गरी बटमदेखि टपसम्म न्याय प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे। पाण्डेले आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्यांकन गर्दै मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिने प्रतिवद्धता जनाए।
त्यस्तै उनले कसैको प्रभाव र दबाबमा फैसला गर्ने काम आफूबाट नभएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थागत सुधारमा ध्यान दिने उल्लेख गरे।



