काठमाडौँ- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। उनले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन्।
नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पन्तले मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन्।
उनले मुलुकका विकराल समस्या एकातिर थन्क्याएर लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा पार्टीविरुद्ध राज्यशक्ति प्रयोग भइरहेको भन्दै आपत्ति जनाइन्। प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काम लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।
सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको उल्लेख गर्दै उनले लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्ने गतिविधि स्वीकार्य नहुने बताइन्। यस्ता गतिविधिविरुद्ध कांग्रेस सडकमा उत्रिन बाध्य हुने उनले चेतावनी दिइन्।
महामन्त्री पन्तले शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै गन्तव्य बन्ने क्रम बढिरहेको बताइन्। युवालाई स्वदेशमै भविष्य देखाउन सरकारले आवश्यक काम गर्न नसकेको उनको आरोप थियो। नेपाली कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने बताउँदै उनले पार्टीभित्र परिवर्तनको अभियानले कांग्रेसलाई युवामय बनाएको उल्लेख गरिन्। अब राष्ट्रको नेतृत्व युवाले गर्ने समय आएको उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता किरणबाबु श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीमा नयाँ उत्साह थपेको बताए। २०१७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसमाथि धरपकड र पार्टी समाप्त पार्ने प्रयास भए पनि निरन्तर संघर्षकै कारण २०४६ सालमा प्रजातन्त्र स्थापना भएको उनले स्मरण गरे।
अहिले पनि कांग्रेस र पार्टी नेतृत्वविरुद्ध प्रायोजित रूपमा गतिविधि भइरहेको उल्लेख गर्दै श्रेष्ठले लोकतन्त्रका लागि कांग्रेस आज पनि राष्ट्रिय शक्ति भएको बताए। कांग्रेसको भूमिका कायम राख्न सबै तह र तप्काका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाइ थियो।



